मंगलबार, वैशाख ९, २०८२

अधिकांश सङ्क्रमित भोजभतेरमा संलग्न

नेपालखोज २०७८ वैशाख २३ गते १६:१४


चितवन । जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु सङ्क्रमित भेटिएका हुन् ।

गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रम हुनसकेका थिएनन् । गत फागुन ४ देखि यही वैशाख ५ गतेसम्म पनि शुक्रअन्ध भएका कारण शुभकार्य गर्न नहुने धार्मिक मान्यता थियो ।

लामो समयदेखि रोकिएका यस्ता कार्यक्रम वैशाख पहिलो हप्तापछि धमाधम भएका थिए । यस्ता कार्यक्रममा सहभागी नै बढी सङ्क्रमित भएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी गीतागञ्जली ढकालका अनुसार कार्यालयमा दुई कर्मचारीले यही वैशाख १६ गतेबाट सङ्क्रमितलाई फोन गरिरहेका छन् । दैनिक ५० जना हाराहारीलाई फोन गर्दा अधिकांशले विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रमबाट फर्किएपछि आफू सङ्क्रमित भएको बताएको जानकारी दिए । टेलिफोनबाट सर्वेक्षण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क भने आउन नसकेको उनको भनाइ थियो ।

वैशाखयता मात्रै जिल्लामा एक हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । पछिल्ला दिनमा दैनिक २०० भन्दा बढी सङ्क्रमित देखिएका छन् । महानगरपालिकाका कोभिड–१९ सम्पर्क व्यक्ति केशव भट्टले महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा पनि अधिकांशले विवाह, व्रतबन्ध, भोजभतेरमा सहभागी भएपछि सङ्क्रमणमा परेको बताएको जानकारी दिए ।

कतिपयले जिल्ला बाहिर गएर आएपछि सङ्क्रमणमा परेको पनि जनाएको उनले बताए । महानगरपालिकाले पाँच समूह बनाएर वडा छुट्याएर सङ्क्रमितसँग सम्पर्क गरिरहेको छ । दुई दिनदेखि महानगरले सम्पर्क कार्य थालेको हो ।

भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले विवाह, व्रतबन्ध, पूजापाठसँगै दलका कार्यक्रम पनि सङ्क्रमण समुदायमा पु¥याउनमा जिम्मेवार रहेको देखिएको बताउए । उनका अनुसार सरकारले गरेको निर्देशनलाई अवज्ञा गरेकै कारण यो अवस्था आएको हो । विवाहको लगन अघि सत्तापक्ष र विपक्षी सबै दलले आआफ्नो शक्ति प्रदर्शन गरेर देशैभर सभासम्मेलन गरेका थिए ।

ती कार्यक्रम पनि समुदायमा कोरोना पु¥याउन सहयोगी बनेको फिजिसियनसमेत रहेका डा अधिकारीको बुझाइ छ । आम सर्वसाधारणले कोरोनालाई हल्का रूपमा लिँदा यो अवस्था सिर्जना भएको उनले बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी गएको फागुनदेखि नै सन्देश प्रवाह गरेर भोजभतेर, सभासम्मेलनमा २५ जनाभन्दा बढी सहभागी नहुन अनुरोध गरेको भए पनि अटेर गरिएका कारण सङ्क्रमण धेरै फैलिएको बताए ।

विवाहमा २५ जनाभन्दा बेहुलापट्टीका २५ र बेहुलीपट्टीका २५ भन्दै फरक–फरक व्याख्या गरेर सरकारले गरेको निर्देशन अधिकांशले अटेर गरेका थिए । गत वर्ष पनि यस्ता कार्य हुन नसकेकाले कोरोना सक्किइहाल्यो नि भन्दै धेरैले मन फुकाएर आफन्त डाक्ने गरेको तिवारीको भनाइ छ ।

पछिल्लो समयमा विगतकै तुलनामा विवाह, व्रतबन्ध धुमधामका साथ हुने गरेका थिए । यस्ता कार्यक्रममा विभिन्न जिल्ला र विदेशबाट आउनेसमेत सहभागी हुने गर्दथे । कतिपय भारतबाट समेत यस्ता कार्यक्रममा सहभागी हुन आएका थिए ।

जुन आज कोरोना फैलाउने माध्यम बनेको विज्ञहरु बताउँछन् । सङ्क्रमण भयावह हुँदासमेत हिजोआज पनि लुकीछिपी यस्ता कार्यक्रम हुँदै आएका छन् । प्रशासनले घरमा परिवार मात्रै बसेर यस्ता कार्य गर्न भने पनि अटेर गरेर आफन्त बोलाउँदै कार्यक्रम गरिरहेको पाइन्छ ।
रासस

प्रतिक्रिया