मंगलबार, वैशाख ९, २०८२

दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन

नेपालखोज २०७८ वैशाख २४ गते ११:१७


नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् ।

गैँडाकोट नगरपालिकाले कोभिड–१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको बताएका छन् ।

गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित र गर्भवतीलाई उपचारका लागि समयमा नै अस्पताल पु¥याउन तीनवटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिए ।

पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित बिरामीका लागि दुई र गर्भवतीका लागि एक एम्बुलेन्स निःशुल्करूपमा सञ्चालन गर्ने गरी तयारी अवस्थामा राखेको बताए ।

नगरपालिकामा राखिएको एम्बुलेन्स किसान साकोसको हो भने अमरापुरीमा यसअघिकै एम्बुलेन्सले सेवा दिने नगरप्रमुख पौडेलले बताए । किसान साकोसको एम्बुलेन्स नगरपालिकाले भाडामा लिएर जनताको सेवाका लागि तयारी अवस्थामा राखेको हो ।

नगरपालिकामा विभिन्न सङ्घसंस्थासहित सातवटा एम्बुलेन्स रहेको भए पनि सङ्क्रमितको उपचारका लागि समयमै सेवा पाउन कठिन हुने सम्भावनालाई ध्यानमा राखी निःशुल्क एम्बुलेन्स सञ्चालन गरिएको पौडेलले बताए ।

एम्बुलेन्स आवश्यक पर्ने सङ्क्रमितले सिधै नगरपालिकाको स्वास्थ्य शाखा, स्थानीय जनप्रतिनिधि वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सक्ने पौडेलले बताए । कोभिड सङ्क्रमण भएका बिरामीलाई अस्पताल पु¥याउनका लागि नगरपालिकामा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८५५०५६५५९ तथा अमरापुरीमा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८६३२७२७२४ र गर्भवतीका लागि एम्बुलेन्स आवश्यक परेमा पितौजीको बर्थिङ सेन्टरमा ९८५५०६४३८८ मा सम्पर्क गर्नसमेत पौडेलले आग्रह गरे ।

त्यसैगरी कावासोती नगरपालिकाले समेत कोभिड–१९ का सङ्क्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । नगरभित्रका सङ्क्रमित कसैलाई समस्या परेमा नगरपालिकाले व्यवस्थापन गरेको एम्बुलेन्सका चालकको मोबाइल नम्बर ९८४७०७४६३४ मा सम्पर्क गर्न सकिने नगरउपप्रमुख प्रेम शङ्कर मर्दनियाले बताए ।

नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको हेरचाह, स्वास्थ्य परामर्श र उपचारका लागि २० स्वास्थ्यकर्मी सहितको टोली परिचालन गरिएको मर्दनियाले जानकारी दिए ।

अक्सिजनसहितको आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने बिरामीका लागि मध्यविन्दु जिल्ला अस्पतालसँग समन्वय गरिएको मर्दनियाको भनाइ छ । डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको लागि २८ शय्याको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले बताउनुभयो ।

आजसम्म पुग्ने गरी बिरामीका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर मौज्दात रहेको भन्दै सुवेदीले थप अक्सिजनका लागि तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया