बाँकेसहित कर्णाली र चितवनमा थप २३ सङ्क्रमितको मृत्यु

बाँके । गएराति भेरी अस्पतालमा ५ र शिक्षण अस्पतालमा ५ गरी १० जनाको ज्यान गएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका ७, कोहलपुर नगरपालिकाका एक, बर्दियाको बारबर्दियाका एक र टीकापुर कैलालीका एक जना सङ्क्रमितको ज्यान गएको अस्पतालको जनाएकाे छ ।
योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६९ पुगेको छ । बाहिरी जिल्लाका एक सय ३० जनाको ज्यान गएको छ ।
यसैबीच कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३६, ४२ र ७३ वर्षीय पुरुष, लेकबेँसी नगरपालिका–५ का ३८ र छत्रेश्वरी गाउँपालिका–६ सल्यानका ६५ वर्षीया महिला रहेका छन् ।
उनीहरू सबैको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।
त्यस्तै, जिल्ला अस्पताल सल्यानमा शारदा नगरपालिका–१ का ६७ वर्षीय पुरुष र जिल्ला अस्पताल दैलेखमा भैरवी गाउँपालिका–४ दैलेखका ४६ वर्षीय पुरुषको मृत्यु भएको डा खड्काले बताए ।
भेरी नगरपालिका–४ जाजरकोटका ४५ वर्षीया महिलालाई नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ । यससँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ ।
डा खड्काका अनुसार पछिल्लो २४ घण्टामा ६१८ जनाको पिसिआर परीक्षणबाट ४०० र २६० जनाको एन्टिजेन परीक्षण गरिएकामा १०३ गरी जम्मा ५०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कर्णालीमा हालसम्म नौ हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएकामा सात हजार ७४८ ९७८ प्रतिशत० सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । हाल दुई हजार ८८७ जना आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
होमआइसोलेशनमै मृत्यु
बर्दियाको बारबर्दिया नगरपालिका–८ का एक कोरोना सङ्क्रमित युवकको होम आइसोलेशनमा मृत्यु भएको छ । बारबर्दिया–८ का ३८ वर्षीय युवाको वैशाख १७ गते बाँसगढीको माछागढमा रहेको कोभिड अस्पतालमा एन्टिजेन परीक्षण गराउँदा उनकाे र उनकी श्रीमतीकोमा पोजेटिभ रिपोर्ट आएको थियो ।
उनीहरूको रिपोट पोजेटिभ आएपछि होमआइसोलेशनमा बस्दै आएका युवाको अस्पताल लैजाने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले बताए । बर्दिया जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।
दुई अस्पतालमा पाँच सङ्क्रमितको मृत्यु
चितवनका रहेका दुई मेडिकल कलेजमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र अन्य बाहिरी जिल्लाका रहेका छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ की ६९ वर्षीया वृद्धा रहेकी छन् । उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । निमोनियाको समस्या भई यही वैशाख १९ गते अस्पताल आएकी उनमा २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५७ बजे मृत्यु भएको हो ।
यस्तै नवलपरासीको प्रतापपुर गाउँपालिका–९ का ३४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको आज बिहान ४ः०० बजे मृत्यु भएको हो ।
उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–१ का ५३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः१० बजे मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ५८ वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई यही वैशाख १५ गते अस्पताल भर्ना भएका उनमा १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बिहीबार राति १२ः४० बजे मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यस्तै सोही मेडिकल कलेजमा उपचारका क्रममा कैलालीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–९ की ५३ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको आज बिहान ६ः०० बजे मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरेको केही समयमा नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया