मंगलबार, वैशाख ९, २०८२

कोरोना कहरसँगै मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा

नेपालखोज २०७८ वैशाख २४ गते १२:१८


कैलाली । कोरोनाको दोस्रो लहर शुरु भएसँगै दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि कैलाली जिल्लामा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका छन् ।

नियमनकारी निकायले बजार अनुगमन नगर्दा कतिपय व्यापारीले उपभोक्तालाई ठगेका छन् । कोरोनाको सङ्क्रमण बढेपछि व्यापारीले मास्कको अभाव देखाउँदै प्रति थान दुई रुपैयाँ पर्ने सर्जिकल मास्कको २० रुपैयासम्म बिक्री गर्न थालेका छन् ।

मेडिकलहरुले औषधिमा समेत मूल्य वृद्धि गरेको देखिन्छ भने खाद्यान्न, सुर्तीजन्य पदार्थ तथा खाने तेलको मूल्यमा अस्वाभाविकरुपमा मूल्य वृद्धि भएको स्थानीयवासी नरराज रावतले बताए । टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका रामबहादुर चौधरी दैनिक मजदूरी गरी जीवन निर्वाह गर्दै आएका छन् ।

दैनिक गिट्टी कुटेर साँझ–बिहानको छाक टार्ने रामबहादुरलाई अहिले कोरोना सङ्क्रमणका कारण भएको निषेधाज्ञाले दैनिक मजदूरीको काम रोकिँदा खानका लागि निकै समस्या हुन थालेको छ ।

उनले सरकारबाट राहतको व्यवस्थापन हुन नसके रोगभन्दा पनि भोकले मर्नुपर्ने समय आउने बताए । उपभोक्ता हित संरक्षण समिति टीकापुरले अहिलेसम्मको स्थितिमा प्रेस विज्ञाप्ति निकाल्ने भन्दा अर्को काम गरेको देखिँदैन ।

समितिका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले बजार अनुगमनका लागि प्रक्रिया अगाडि बढाइएको भए पनि अनुगमन हुन नसकेको बताए । उनले व्यापारीहरुले सामानको खरीद बिल नराख्दा अनुगमनमा समस्या हुने गरेको बताउँदै नगरपालिका बढी जिम्मेवार भएमात्र अनुगमनलाई प्रभावकारी बनाउन सकिने बताए ।

टीकापुर नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समितिसमेत गठन गरेको छ । समितिले गरेको बजार अनुगमन औपचारिकतामा मात्रै सीमित हुने गरेको गुनासो स्थानीयवासीको रहँदै आएको छ ।

उता, स्वास्थ्य क्षेत्रको अनुगमनका लागि नगरपालिकाले जनस्वास्थ्य प्रवद्र्धन शाखालाई जिम्मेवारी दिएको छ । स्वास्थ्यका कर्मचारी कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका कारण स्वास्थ्य क्षेत्रको अनुगमन गर्न नसकिएको नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले बताए ।

प्रतिक्रिया