१५ शय्याकाे आइसोलेसन केन्द्र सञ्चालनमा

काठमाडौं । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ श्ययाको आइसोलेसन सेन्टर निर्माण गरिएको जानकारी दिए ।
बिरामीको अवस्था हेरेर उक्त स्वास्थ्य केन्द्रमा ५० शय्याको आइसोलेशन केन्द्र निर्माण गरिने उपप्रमुख डङ्गोलको भनाइ छ ।
सो नगरपालिकाले नगर उपप्रमुख डङ्गोलको संयोजकत्वमा आइसोलेशन सेन्टर व्यवस्थापन तथा अनुगमन समिति निर्माण गरी कोभिडका बिरामीको उपचारका लागि सम्भावित स्थानको अध्ययन गरिरहेको छ ।
यस्तै नपाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र निर्माण गर्न लागेको छ ।
नगरपालिकाले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी०सँगको सहकार्यमा नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेशन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र ८० शय्याको हुने नगरपालिकाले जनाएको छ ।
उक्त नगरपालिकाभित्रका जनप्रतिनिधि तथा कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि यही वैशाख ३० गतेसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको छ ।
यस्तै सो नगरपालिकाले दोस्रो चरणको कोरोनाबाट गम्भीर रहेका बिरामीको उपचारका लागि स्थानीय तहभित्रका निजी अस्पतालसँग सहकार्य गर्ने भएको छ ।
नपाले ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल तथा प्रसूति गृह गोङ्गबुसँग टोखाभित्रका सङ्क्रमित बिरामीलाई उपचारका लागि सहजीकरण गर्ने नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए ।
प्रतिक्रिया