मंगलबार, वैशाख ९, २०८२

महामारीमा यात्रु ठग्नेलाई पक्राउ गर्दै ट्राफिक प्रहरी

नेपालखोज २०७८ वैशाख २४ गते १५:०४



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तिब्र पारेको छड्के चेकजाँच तथा अनुगमन टोलीले यात्रुसँग बढि भाडा लिई ठगी गर्ने तिन जनालाई पक्राउ गरेको छ ।

उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशिक रोजगारबाट आई घर फर्किने र अत्याबश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

महामारीको अबस्थामा यात्रुहरु ठगीन सक्ने कुरालाई मध्यनजर गरी बिशेष टोली परिचालन गरेका छौ, टोलीले त्यस्ता स्थानहरुमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिएको पाइए निग्रानीमा राखि नियन्त्रणमा लिने गरेको उहाँले जानकारी दिए ।

कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरदहका ४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने बर्ष ३४ को राम सुरेल पक्राउ गरेको महाशाखाले पुष्टी गरेको छ ।

काठमाण्डौं देखि पुर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजार देखी ४५ सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश ३–०१–००६ ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेललाई बृत्त गौशाला र अन्य दुई जनालाई आबश्यक कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वमा बुझाएको छ ।

यसरी महामारीमा सार्वजनिक सवारी संचालनमा पुर्ण रोक लगाएको भएता पनि बिभिन्न समस्यामा परेका र बिदेशबाट आएकाहरुलाई लग्ने बहानामा बढि भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी हिजो प्रहरी प्रभाग गंगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

बढि भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया