मंगलबार, वैशाख ९, २०८२

राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा, अग्नि शिखालाई वरिष्ठ पत्रकार सम्मान (सूचीसहित)

नेपालखोज २०७८ वैशाख २४ गते १५:२२

काठमाडौं । सरकारले दिवंगत सुकदेव नेपाल (अग्नि शिखा) लाई वरिष्ठ पत्रकार सम्मान २०७६ प्रदान गर्ने भएको छ । उनलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।

छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारले अग्नि शिखालाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गर्न लागेको जानकारी गराएको हो ।

त्यसैगरी सोही सम्मान पत्रकार हर्ष सुब्बालाई पनि प्रदान गरिने भएको छ । पत्रकारहरु रघु मैनाली र शार्दूल भट्टराईलाई वरिष्ठ पत्रकार सम्मान २०७७ लाई प्रदान गरिने भएको छ । वरिष्ठ पत्रकार सम्मानको राशि जनही २ लाख रुपैयाँ छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ को पनि आज (शुक्रबार) नै घोषणा गरिएको छ । राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ इन्द्रमान बुढा (उजिर मगर) बागलुङ, मात्रिका पौडेल रामेछाप, संगीता खड्का काठमाडौं, शेषराज दाहाल सिन्धुली, हेमन्तबहादुर बिके बाँके, शीतल शाह, धनुषालाई प्रदान गरिने भएको छ ।

त्यसैगरी पत्रकारहरु दिलीपकुमार थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजजंग पाण्डे, नीतु पण्डित, पुनम पौडेललाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ ।

पुरस्कार घोषणा कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापनसमेत गरे । सम्मानित तथा पुरस्कृत पत्रकारहरुलाई कोरोना कहर सकिएपछि राष्ट्रपतिबाट सम्मान तथा पुरस्कार प्रदान गरिने सञ्चार मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया