मंगलबार, वैशाख ९, २०८२

अक्सिजन जुटाउने अभियानमा इभेन्ट बेटर ग्यालेक्सी र कुलेश्वर योङ गाइज

नेपालखोज २०७८ वैशाख २८ गते १०:५४

काठमाडौं । यतिखेर कोभिड-१९ को महामारीले समग्र विश्व आक्रान्त बनेको अवस्था छ ।

नेपाल पनि यसबाट अछुतो छैन । कोभिड-१९ को दोस्रो लहरको चपेटामा परेदेखि नेपालको स्वास्थ्य क्षेत्रले गम्भीर जटिलताको सामना गरिरहनुपरेको छ । कोभिड-१९ का संक्रमितको उपचारमा आवश्यक मानिएको अक्सिजनको चरम अभावबाट अहिले प्रायः अस्पतालहरु गुज्रिरहेका छन् । यही कारणले पनि कतिपय संक्रमितहरुको ज्यान गएको छ भने धेरैको ज्यान जोखिममा पर्न थालेको छ ।

यसै सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता एवं विभिन्न इभेन्टहरुको व्यवस्थापनमा आफ्नो बलियो उपस्थिति देखाउँदै आएको इभेन्ट बेटर ग्यालेक्सीले यो विषम् परिस्थितिमा अक्सिजन सिलिन्डर जोहो गर्नमा तत्परता देखाएको । कुलेश्वर योङ गाइजको सहकार्यमा इभेन्ट बेटर ग्यालेक्सीका प्रमुख धीरज तण्डुकार अक्सिजन सिलिन्डर संकलन गरेर त्यसमा अक्सिनजन भर्दै आवश्यक परेकाहरुलाई सहयोग गर्नमा जुटेका छन् । धीरजको यो अभियानामा दीपेन्द्र केसी, सानुराजा महर्जन र दीपेन्द्र श्रेष्ठको साथ छ ।

हालसम्म आफूहरुले कुलेश्वर, सानेपा र बल्खुका विभिन्न स्थानबाट साठीभन्दा बढी अक्सिजन सिलिन्डर संकलन गरेको र तिनमा अक्सिजन भरेपछि वितरण गर्ने धीरजले जानकारी गराएका छन् ।

आर्थिक अभावका कारण अक्सिजन नपाएर ज्यान जोखिममा परेकाहरुलाई प्राथमिकतामा राखेर निःशुल्क अक्सिजन उपलब्ध गराउने अभियानमा लागेका धीरजका अनुसार अक्सिजन सिलिन्डर संकलन गर्ने कार्य जारी रहेको बताए । उनले आवश्यकता परेकाहरुलाई निरन्तर सहयोग गर्ने पनि बताए ।

प्रतिक्रिया