ओलीलाई प्रधानमन्त्री बनाउन डोलेश्वर रिसोर्टमा बसेका जसपा सांसद्को ९० हजारको बिल !

काठमाडौं । मुलुक महामारीबाट आक्रान्त बनेको छ । नागरिकहरुले प्राणवायु (अक्सिजन) नपाउँदा असामयिक मृत्युवरण गर्नुपरेको छ । दैनिक हजारौं कारोना संक्रमितहरु थपिएका छन् भने सयौंको मृत्यु भइरहेको छ । सरकारले नागरिकको चित्कार नसुनेको भन्दै चर्को आलोचनासमेत भइरहेको छ ।
तर, यही समयमा सरकार, सरकारसम्बद्ध दलहरु तथा विपक्षी दलहरु भने मुलुकको अस्थिर राजनीतिक कोर्षलाई आफूअनुकूल प्रयोग गर्न सत्ताको दौडधुपमा व्यस्त छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक वैशाख २७ गते विश्वास मत लिने निर्णय गरेपछि मुलुकमा राजनीतिक अराजकता थप बढेको हो ।
वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएपछि विपक्षीहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी (जसपा) का एक अध्यक्ष उपेन्द्र यादव पक्षले वैकल्पिक सरकारका लागि प्रयास गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते नै विपक्षीहरुलाई वैशाख ३० गतेसम्मको समयसीमा दिएर सरकार गठनका लागि संविधानको धारा ७६ (२) अनुसार आह्वान गरिन् ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीमा बहुमत पुग्न नदिन जसापका अर्का अध्यक्ष महन्थ ठाकुर समूहका सांसद्लाई भक्तपुरको एक रिसोर्टमा राखे । अर्कोतर्फ उनले माधव पक्षलाई फकाउने कोसिस गरे । जसका कारण विपक्षीहरुले सरकार गठनका लागि बहुमत पुर्याउन सकेनन् । प्रधानमन्त्री ओलीले जनता जीवनको भिख मागिरहँदा सांसद् लुकाउने काममा व्यस्त भएको भन्दै चर्को आलोचना भयो ।
अस्पतालहरुका बेडहरु भरिएका छन् । निजी अस्पतालहरुलै बिरामीबाट दैनिक २० देखि ५० हजारसम्म असुल गरिरहेका छन् । तर, सरकार भने आफ्नो सत्ता जोगाउनमा लागि एक दिनमा लाखौं खर्च गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमालेका सांसद् महेश बस्नेतले भक्तपुरको डोलेश्वर रिसोर्टमा लगेको महन्थ समूहका एक सांसद्ले जानकारी दिएका छन् । उनका अनुसार जसपाका सांसद्हरु काठमाडौंमै रहेको अवस्थामा उपेन्द्र पक्षले फकाउनसक्ने भन्दै त्यहाँ लगेर राखिएको हो । जसापको महन्थ समूहका १८ जना सांसद्हरुलाई वैशाख ३० गते दिउँसो उक्त रिसोर्टमा पुर्याइएको थियो ।
उनीहरुको एक रातको खर्च ९० हजार भएको बिल सार्वजनिक भएको छ । जनता समाजवादी पार्टीको नाममा काटिएको बिलमा हलको खर्च, एक छाक खाना र खाजा समेटिएको छ । राति पनि सांसद्हरु त्यही बसेका कारण बेलुकाको खाना बिलमा उल्लेख गरिएको छैन ।
यसरी सरकारले आफूले चाहँदा एकैरातमा लाखौं खर्च गर्न तयार हुने भए पनि जनताको जीवनरक्षाका लागि एकथान अक्सिजन सिलिन्डर, अस्पतालको बेड, आईसीयू, भेन्टिलेटर, कोरोना परीक्षण किट भने उपलब्ध गराउन नसकेको भन्दै सरकार निकम्मा बनेको भन्दै सामाजिक सन्जाल प्रयोकर्ताहरुले आक्रोश व्यक्त गरिरहेका छन् ।



प्रतिक्रिया