बुधबार, वैशाख १०, २०८२

सञ्चालनमा आयो सघन उपचार कक्षसहित १४० शय्याको कोभिड वार्ड

नेपालखोज २०७८ जेठ २ गते १२:२१


चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २०शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी शय्या थप गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबारदेखि कोभिड वार्ड सञ्चालन गरिएको छ ।

वार्डमा अहिले २४ सङ्क्रमितको उपचार भइरहेको छ । कोभिड वार्डमा दुई भेन्टिलेटर आठ मनिटरसहितको सघन उपचार कक्ष सरहको सुविधा रहेको डा गौतमले जानकारी दिए ।

उनका अनुसार भेन्टिलेटर र सघन उपचार कक्षको सङ्ख्या बढाउँदै लगिनेछ । कोभिड वार्डमा अक्सिजनको पाइपलाइन रहेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले ठूलो समस्या नपर्ने अनुमान गरिएको छ ।

बिरामीको सङ्ख्या बढ्दै जाँदा र धेरै अक्सिजन चाहिने सङ्क्रमित आएमा भने अस्पतालको प्लान्टले नधान्ने उनको भनाइ छ । प्रदेश, सङ्घीय सरकार र दातासँग भेन्टिलेटरलगायतका उपकरण माग गरेको डा गौतमले जानकारी दिए ।

उनले भने, “वार्डलाई सकेसम्म सुविधा सम्पन्न बनाइने छ ।” जिल्लामा सङ्क्रमित बढ्दै गएपछि क्यान्सर अस्पतालले कोभिडको उपचार सुरू गरेको हो ।

यस जिल्लाका भन्दा धेरै बिरामी बाहिरबाट आएका छन् । ४५० शय्याको क्यान्सर अस्पतालमा हाल १७० जना क्यान्सरका बिरामी उपचाररत छन् ।

कोभिड वार्ड सञ्चालनमा आए पनि क्यान्सरका बिरामीको उपचार भने नरोकिने उनको भनाइ छ । यस अस्पतालमा क्यान्सर रोगको उपचारका लागि देशभरबाट बिरामी आउने गर्दछन् ।

अन्य समयमा भारतका सीमा क्षेत्रबाट समेत यहाँ बिरामी आउने गरेका थिए । चीन सरकारको सहयोगमा सो अस्पताल निर्माण भएको हो ।

प्रतिक्रिया