मंगलबार, वैशाख ९, २०८२

नेप्सेको उच्च वृद्धिमा लाग्यो ब्रेक, १३ अंकले घट्दा ११ अर्ब ९५ करोडको सेयर किनबेच

नेपालखोज २०७८ जेठ ५ गते १५:३८

काठमाडौं । नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । कारोबार खुलेको पहिलो घण्टा उच्च अंकले बढेर २८ सय अंकबाट पनि माथि चढेको नेप्से अन्तिम समयसम्म आइपुग्दा भने १३ दशमलव ९ अंकले घटेर २७ सय ८० दशमलव ८१ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव आठ अंकले घटेर चार सय ९६ दशमलव १४ अंकमा पुगेको छ । दुई सय १४ वटा कम्पनीको एक लाख ३२ हजार तीन सय ६९ पटकको कारोबारमा दुई करोड ५१ लाख २१ हजार पाँच सय ५४ कित्ता सेयर खरिद-बिक्री हुँदा आज कुल कारोबार रकम ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार चार सय ११ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा पाँचवटा समूहको सूचक बढेर आठवटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ३४ अंकले बढेर १८ सय ३४ दशमलव ३८ अंकमा पुग्दा होटेल तथा पर्यटन समूहको सूचक पनि १४ दशमलव १२ अंकले बढेर तीन हजार चार सय ७० दशमलव ७१ अंकमा चढेको छ ।

यीबाहेक ट्रेडिङ, फाइनान्स र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने ५१ दशमलव ९८ अंकले घटेर तीन हजार ६८ दशमलव ८७ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ५७ दशमलव ९४ अंकले घटेर १४ हजार दुई सय चार दशमलव ६९ अंकमा झरेको छ । यसैगरी जलविद्युत्, जीवन बिमा, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहको समूहको सूचक पनि घटेका छन् ।

आज समता लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर १७ सय ६ रुपैयाँमा कारोबार हुँदा ङादी ग्रुप पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ८८ प्रतिशतले घटेर तीन सय २५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी नेपाल पुनर्बिमा कम्पनीको भने आज प्रतिकित्ता १६ सय ५६ रुपैयाँ अन्तिम मूल्यमा ५५ करोड ६९ लाख १८ हजार एक सय एक रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया