मंगलबार, वैशाख ९, २०८२

६ अंकले नेप्से बढ्दा ८ अर्ब ९२ करोड रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७८ जेठ ६ गते १५:५५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से बढेको छ । अघिल्लो दिन १३ दशमलव नौ अंकले घटेको नेप्से आज ६ दशमलव ३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले बढेर चार सय ९८ दशमलव ९७ अंकमा पुगेको छ ।

दुई सय १४ वटा कम्पनीको एक लाख ६ हजार तीन सय ९९ पटकको कारोबारमा दुई करोड एक लाख ३३ हजार ६ सय दुई कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम नौ अर्ब ३० करोड ५२ लाख २२ हजार चार रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा पाँचवटा समूहको सूचक बढेर बाँकी आठवटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १७ दशमलव ३४ अंकले बढेर १८ सय ५१ दशमलव ७२ अंकमा फाइनान्स समूहको सूचक पनि ८९ दशमलव २६ अंकले बढेर १५ सय ४७ दशमलव ४० अंकमा चढेको छ ।

विकास बैंक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि आज बढेका छन् । जलविद्युत् समूहको सूचक भने ४२ दशमलव २५ अंकले घटेर २७ सय ७० दशमलव ७८ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि २३ दशमलव ४७ अंकले घटेर १४ हजार एक सय ८१ दशमलव २३ अंकमा झरेको छ ।
यीबाहेक लघुवित्त, जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक र लगानी समूहको सूचकहरू पनि घटेका छन् ।

आज मञ्जुश्री फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ९४ रुपैयाँमा कारोबार हुँदा पाँचथर पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव २८ प्रतिशतले घटेर तीन सय ४३ रुपैयाँमा कारोबार भएको छ । आज पनि नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १६ सय ५१ रुपैयाँ अन्तिम मूल्यमा ३३ करोड ९६ लाख ६३ हजार ६ सय ७० रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया