मंगलबार, वैशाख ९, २०८२

नेप्से २,७८७ अंकमा, सातामा आधा खर्बभन्दा बढीको सेयर किनबेच

नेपालखोज २०७८ जेठ ७ गते १४:४६

काठमाडौं । सरकारले स्थानीय निकायसमेतको समन्वयमा कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण तथा रोकथामको लागि जारी गरेको निषेधाज्ञाको अवधिमा सम्पूर्ण क्षेत्र बन्द रहे पनि सेयर बजारमा भने यसको सकारात्मक प्रभाव देखिएको छ ।

निषेधाज्ञाको अवधिमा नेप्से सूचक तथा कारोबार रकम दुवै उच्च अंकले बढेका कारण पनि यस क्षेत्रमा सकारात्मक प्रभाव परेको आकलन गरिएको हो । अहिले अनलाइनमार्फत सेयर कारोबार हुँदा यो साता आधा खर्बभन्दा बढीको सेयर किनबेच भएको छ । नेप्से पनि २८ सय अंकको नजिक पुगेको छ ।

नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला हुुँदा चौंथो कार्यदिन घटे पनि बाँकी कार्यदिनहरुमा भने नेप्से उच्च अंकले बढेको छ । सोही आधारमा पनि यो साता नेप्से २७ सय ८७ दशमलव १८ अंकमा पुगेर रोकिएको छ । सेन्सिटिभ इन्डेक्स पनि चार सय ९८ दशमलव ९७ अंकमा पुगेर रोकिएको छ ।

जसअनुसार सातामा दुई सय १८ वटा कम्पनीको सेयर पाँच लाख ६९ हजार दुई सय ४७ पटकको कारोबारमा १० करोड ८६ लाख ९७ हजार ६ सय ६० कित्ता सेयर खरिद-बिक्री भएका छन् । यसबाट कुल कारोबार रकम ५२ अर्ब ५६ करोड ४७ लाख तीन रुपैयाँको सेयर कारोबार भएको छ ।

गत साता भने नेप्सेमा २८ अर्ब ६१ करोड ६४ लाख ११ हजार सात सय १३ रुपैयाँको कारोबार भएको थियो । जसबाट उक्त साता दुुई सय २० वटा कम्पनीको तीन लाख ३८ हजार दुई सय आठपटकको कारोबारमा ६ करोड ७९ लाख ३७ हजार २८ कित्ता सेयर खरिद-बिक्री थिए । यो साता सुरुवाती कारोबार दिन ५४ दशमलव २१ अंकले बढेर २७ सय ३८ दशमलव २९ अंकमा चढेको नेप्से अन्तिम कारोबार दिनसम्म आइपुग्दा ६ दशमलव ३७ अंकले बढेर दुई हजार सात सय ८७ दशमलव १८ अंकमा सीमित हुुन पुगेको थियो ।

यसैगरी सेन्सिटिभ पनि पहिलो दिन आठ दशमलव ६४ अंकले बढेर चार सय ८८ दशमलव १४ अंकमा सीमित हुुन पुुगेकामा अन्तिम कारोबार दिनसम्म आइपुग्दा दुुई दशमलव ८३ अंकले बढेर चार सय ९८ दशमलव ९७ अंकमा सीमित हुुन पुगेको थियो । यो साता नेपाल पुनर्बिमा कम्पनी, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदिको बढी रकम कारोबार भएका थिए ।

अपर तामाकोसी हाइड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका थिए । बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंकलगायत कम्पनीहरु अगाडि परेका थिए ।

प्रतिक्रिया