नेप्से २८ सय अंकमाथि, ११ अर्ब ६९ करोडको सेयर किनबेच
साताको पहिलो कारोबार दिन नै नेप्सेमा हरियाली

काठमाडौं । साताको पहिलो कारोबार दिन नै नेप्सेमा हरियाली छाएको छ । नेप्से आज (आइतबार) नेप्से ३२ दशमलव ८१ अंकले बढेर २८ सय २० अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव २३ अंकले बढेर पाँच सय सात दशमलव २० अंकमा पुगेको छ ।
आज दुई सय २० वटा कम्पनीको एक लाख २६ हजार एक सय २४ पटकको कारोबारमा दुई करोड ५१ लाख ६३ हजार ६ सय ६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार सात सय २८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार हुँदा तीनवटा समूहको सूचक घटेर १० वटा समूहको सूचक बढेका छन् । तीमध्ये वााणिज्य बैंक समूहको सूचक ३३ दशमलव २९ अंकले बढेर १८ सय ८५ दशमलव एक अंकमा पुग्दा जलविद्युत् समूहको सूचक पनि ४४ दशमलव दुई अंकले बढेर २८ सय १४ दशमलव ९९ अंकमा पुगेको छ ।
जीवन बिमा समूहको सूचक पनि ६१ दशमलव ६३ अंकले बढेर १८ हजार एक सय ९६ दशमलव २८ अंकमा पुग्दा विकास बैंक, ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहको सूचक पनि बढेका छन् । निर्जीवन बिमा समूहको सूचक भने आज ११ दशमलव सात अंकले घटेर १४ हजार एक सय ६९ दशमलव ५३ अंकमा झरेकामा होटेल र लघुवित्त समूहको सूचक पनि घटेका छन् ।
आज कर्णाली डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ८६ रुपैयाँमा कारोबार हुँदा रुरु जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ७३ प्रतिशतले घटेर एक हजार ८३ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज बढी कारोबार गर्ने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता १६ सय ७८ रुपैयाँ अन्तिम मूल्यमा ४१ करोड ८६ लाख ४४ हजार सात सय ४३ रुपैयााँको कारोबार भएको छ ।
प्रतिक्रिया