मंगलबार, वैशाख ९, २०८२

नेप्से २,८१५ अंकमा, सातामा पाैने खर्बभन्दा बढीको सेयर किनबेच

नेपालखोज २०७८ जेठ १४ गते १२:४७

काठमाडौं । यो साता पनि सेयर बजार लगानीकर्ताहरुका लागि सुखद देखिएको छ । निषेधाज्ञाकै अवधिमा पनि सेयर बजार परिसूचक एवं कारोबार रकम दुुवै उच्च विन्दुले उकालो लाग्दा लगानीकर्ताहरुका लागि सेयर बजार सुखद देखिएको हो ।

धितोपत्र बजार, यो साता चार कार्यदिन मात्र खुला थियो । चौथो दिन सार्वजिक बिदा परेका कारण नेप्से बन्द थियो । बाँकी दिनमध्ये पहिलो र दोस्रो दिन नेप्से बढेको थियो भने तेस्रो र पाँचौं दिन घटेको थियो ।

सोही आधारमा नेप्से यो साता २८ सय १५ दशमलव ३९ अंकमा सीमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय तीन दशमलव ७० अंकमा सीमित हुन पुगेको छ ।

सातामा दुई सय २० वटा कम्पनीको पाँच लाख २२ हजार दुई सय ६४ पटकको कारोबारमा ११ करोड ७५ लाख ८३ हजार पाँच सय ३१ कित्ता सेयर खरिद-बिक्री भएका छन् ।

जसबाट यो साता कुल कारोबार रकम ५० अर्ब ७७ करोड २५ लाख ९४ हजार पाँच सय १६ रुपैयाँ पुगेको छ । गत साता भने नेप्सेमा दुई सय १८ वटा कम्पनीको पाँच लाख ६९ हजार दुई सय ४७ पटकको कारोबारमा १० करोड ८६ लाख ९७ हजार ६ सय ६० कित्ता सेयर खरिद-बिक्री भएका थिए ।

उक्त परिमाणमा सेयर खरिद-बिक्री भएको आधारमा गत साता कुल कारोबार रकम ५२ अर्ब ५६ करोड ४७ लाख तीन रुपैयाँ पुुगेको थियो । यो साता सुरुवाती कारोबार दिन ३२ दशमलव ८१ अंकले बढेर २८ सय २० अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिन भने एक दशमलव दुई अंकले घटेर दुई हजार आठ सय १५ दशमलव ३८ अंकमा सीमित हुन पुगेको थियो ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सुरुवाती कारोबार दिन आठ दशमलव २३ अंकले बढेर पाँच सय सात दशमलव २० अंकमा हुन पुगेकामा अन्तिम कारोबार दिनसम्म आइपुग्दा शून्य दशमलव २८ अंकले घटेर पाँच सय तीन दशमलव ७० अंकमा सीमित हुन पुगेको थियो ।

यो साता नेपाल पुनर्बिमा कम्पनी, नेसनल हाइड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भए । नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी आदिको बढी परिमाणमा सेयर खरिद बिक्री भएका छन् ।

बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

सेयर सूचीकरणतर्फ भने यो साता शिखर इन्स्योरेन्स, एनसीसी बैंक डिबेञ्चर २०८६, सनराइज ब्लु चिप आदि सूचीकृत भएका छन् ।

प्रतिक्रिया