११ अंकले घट्यो नेप्से, आठ अर्ब ५९ करोडको सेयर कारोबार

काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४५ दशमलव २५ अंकले घटेको नेप्से आज पनि ११ दशमलव ६८ अंकले घटेर २७ सय ७१ दशमलव १५ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६९ अंकले घटेर चार सय ९६ दशमलव ८६ अंकमा पुगेको छ । दुई सय १६ वटा कम्पनीको ९८ हजार ६ सय सातपटकको कारोबारमा एक करोड ९७ लाख ८३ हजार तीन सय ५४ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार एक सय १७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकामा तीनवटा समूहको सूचक बढेर १० वटा समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ११ दशमलव ७६ अंकले घटेर १८ सय ४६ दशमलव नौ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय २३ दशमलव ९९ अंकले घटेर १४ हजार तीन सय २० दशमलव ८० अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि एक सय ७६ दशमलव ६७ अंकले घटेर १८ हजार २१ अंकमा झरेकामा जलविद्युत्, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने २१ दशमलव ४१ अंकले बढेर तीन हजार ६ सय ७० दशमलव ७८ अंकमा चढेकामा फाइनान्स र अन्य समूहको सूचक पनि बढेका छन् ।
आज कालिका पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ५१ रुपैयाँमा कारोबार हुँदा दिव्येश्वरी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव दुई अंकले घटेर दुई सय ४६ रुपैयाँमा कारोबार भएको छ ।
आज नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १६ सय ३१ रुपैयाँ अन्तिम मूल्यमा ५७ करोड आठ लाख १५ हजार सात सय ८२ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया