मंगलबार, वैशाख ९, २०८२

२९ दशमलव ५५ अंकले नेप्से बढ्दा १६ अर्ब ९० करोडको सेयर खरिद-बिक्री

नेप्सेको उच्च वृद्धिदरले अन्तिम कारोबार दिन पनि पायो निरन्तरता

नेपालखोज २०७८ जेठ २० गते १५:४०

काठमाडौं । नेप्सेको उच्च अंकको वृद्धिदरले साताको अन्तिम कारोबार दिन अर्थात आज (बिहीबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ४५ दशमलव ७६ अंकले बढेको नेप्से आज पनि २९ दशमलव ५५ अंकले बढेर २८ सय ५६ दशमलव ६७ अंकमा पुगेको छ ।

सेन्सिटिभ पनि सात दशमलव ९६ अंकले बढेर पाँच सय १३ दशमलव ११ अंकमा पुगेको छ । आज दुई सय १८ वटा कम्पनीको एक लाख ५५ हजार ६ सय ५५ पटकको कारोबारमा तीन करोड ४६ लाख ८१ हजार तीन सय १२ कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम १६ अर्ब ९० करोड ७० लाख २० हजार दुई सय ८६ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार हुँदा चारवटा समूहको सूचक घटेर नौवटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ५० दशमलव २५ अंकले बढेर एक हजार नौ सय सात दशमलव ४६ अंकमा पुगेकामा जीवन बिमा समूहको सूचक पनि पाँच दशमलव १२ अंकले बढेर १८ हजार चार सय ६ दशमलव ६३ अंकमा चढेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

जलविद्युत् समूहको सूचक भने आज ६० दशमलव तीन अंकले घटेर २८ सय ८० दशमलव ९७ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय १३ दशमलव तीन अंकले घटेर १४ हजार सात सय दुई दशमलव ४७ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ र अन्य समूहको सूचक पनि घटेका छन् ।

आज महिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार हजार सात सय ५२ रुपैयाँमा कारोबार हुँदा नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव २१ प्रतिशतले घटेर सात सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज नेपाल पुनर्बिमा कम्पनीको १७ सय ७० रुपैयाँ अन्तिम मूल्यमा ९८ करोड ११ लाख ६० हजार ६ सय ६२ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया