मंगलबार, वैशाख ९, २०८२

नेप्से हालसम्मकै उच्च अंकमा, पाँच दिनमा ६७ अर्ब ७९ करोडको कारोबार

नेपालखोज २०७८ जेठ २१ गते ११:४६

काठमाडौं । निषेधाज्ञाबीचमा यो साताको सेयर बजार पनि सुखद देखिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नियमित कारोबार कक्ष यो साता पाँच कार्यदिन नै खुला थियो ।

जसमध्ये दोस्रो र तेस्रो कार्यदिन नेप्से घटे पनि बाँकी कार्यदिन कारोबार रकमसहित नेप्सेको सूचक पनि उच्च अंकले बढेको छ । सोही आधारमा यो साता नेप्से हालसम्मकै उच्च अर्थात २८ सय ५६ दशमलव ६७ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १३ दशमलव ११ अंक कायम भएको छ । जसबाट दुई सय १९ वटा कम्पनीको ६ लाख ९० हजार सात सय ३० पटकको कारोबारमा १५ करोड ६ लाख १२ हजार सात सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

जसबाट यो साता कुल कारोबार रकम ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार दुई सय ९५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको झन्डै १७ अर्ब रुपैयाँले बढी हो । गत साता भने धितोपत्र बजार अर्थात् नेप्सेमा दुुई सय २० वटा कम्पनीको पाँच लाख २२ हजार दुई सय ६४ पटकको कारोबारमा ११ करोड ७५ लाख ८३ हजार पाँच सय ३१ कित्ता सेयर खरिद बिक्री भएका थिए । जसबाट उक्त साता कुल कारोबार रकम ५० अर्ब ७७ करोड २५ लाख ९४ हजार पाँच सय १६ रुपैयाँ पुगेको थियो ।

नेप्से परिसूचक यो साता १२ दशमलव ५४ अंकले बढेर २८ सय २७ दशमलव ९३ अंकमा चढेकोमा अन्तिम कारोबार दिनसम्म आइपुग्दा २९ दशमलव ५५ अंकले बढेर दुई हजार आठ सय ५६ दशमलव ६७ अंकमा सीमित हुुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि साताको सुरुवाती कारोबार दिन तीन दशमलव ३५ अंकले बढेर पाँच सय सात दशमलव पाँच अंकमा चढेकामा अन्तिम कारोबार दिनसम्म आइपुग्दा सात दशमलव ९६ अंकले बढेर पाँच सय १३ दशमलव ११ अंकमा सीमित हुन पुगेको छ ।

यो साता नेपाल पुनर्बिमा कम्पनी, लुम्बिनी विकास बैंक आदिको बढी रकम कारोबार भएका छन् भने बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया