बुधबार, वैशाख १०, २०८२

आज विश्व वातावरण दिवस : वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

नेपालखोज २०७८ जेठ २२ गते ८:११

काठमाडौं । आज विश्व वातावरण दिवस मनाइँदैछ । दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् ।

सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि यो दिवसकले थप उत्प्रेरणा दिने विश्वास उनको छ ।

मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिले सबैमा आह्वान गरेकी छन् ।

प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

संयुक्त राष्ट्र संघले आह्वान गरेबमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाउन लागिएको छ ।

प्रतिक्रिया