बुधबार, वैशाख १०, २०८२

बनेन सडक, बिरामीलाई अस्पताल पुर्‍याउनै सास्ती (भिडियो रिपोर्ट)

नेपालखोज २०७८ जेठ २८ गते १७:०७

काठमाडौं । सडकको अवस्था रामो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका छन् ।

रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकमा समेत नकारात्मक असर परेको छ । हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन । सबैकुरा किनेर चलाउनुपर्ने हुन्छ । सडकको अवस्था राम्रो नहुँदा पर्याप्त सामान नपाइने पाइएको सामान महँगो हुने, बासी सडेगलेको खाद्यान्न पुग्ने भएकाले स्थानीय जनताले दुःख पाएका छन् ।

टिमुरेकी स्थानीय तारा रानामगरले खाद्यान्न लत्ताकपडा र तरकारी समेतमा काठमाडौंको भर पर्नुपरेको बताइन् । यस्तै अर्का स्थानीय व्यवसायी बलबहादुर घर्ती मगरले खराब बाटोको मारसँगै कोरोना संक्रमणको जोखिमका कारण लगाइएको निषेधाज्ञाले समेत दुःख पाएको बताए ।

धुन्चे-टिमुरे सडक खण्डको स्तरोन्नति गर्ने विषय वर्षौंदेखि योजनामा परे पनि समयमै काम हुन सकिरहेको छैन । मुख्य सहर जोड्न बाटो लामो भएको र सडकको अवस्था पनि सुध्रन नसकेपछि व्यापार, व्यवसाय पनि हुन छाडेको छ । टिमुरेकै स्थानीय छुनी डोल्मा लामाले बिरामी भएर अस्पताल जानसमेत बाटोका कारण समस्यामा परेको बताइन् ।

यस्तै रसुवाका पूर्वसांसद (प्रतिनिधिसभा) मोहन आचार्यले सडकको स्तरोन्नति गर्न सरकारसँग विभिन्न चरणमा छलफल भए पनि मूर्तरुप पाउन नसकेको बताए । उत्तरी छिमेकी चीनसँग जोड्ने सहज नाकाका रुपमा हेरिए पनि आवश्यक भौतिक पूर्वाधारको कमीले प्रयोगमा आउन नसकेको पूर्वसांसद आचार्यको भनाइ छ ।

सरकारले यस खण्डलाई एक निर्वाचन एक रणनीतिक सडक कार्यक्रमअन्तर्गत पारेको हुँदा आगामी आर्थिक वर्षमा काम हुने विश्वास व्यक्त गरे । यो सडकलाई पवित्र धार्मिकस्थल गोसाईंकुण्ड जाने बाटोमा परिणत गर्नसके धार्मिक पर्यटनबाट आय-आर्जन गर्न सकिने पूर्वसांसद आचार्य बताउँछन् ।

यो सडक पासाङ ल्हामु राजमार्गको नामले पनि चिनिन्छ । यस सडकको ठीक तल मैलुङ-स्याफ्रुबेसी सडक पर्छ । मैलुङ-स्याफ्रुबेसी सडक टिमुरेसम्म पुग्ने भएकाले पासाङ ल्हामु राजमार्ग कतै ओझेलमा पर्ने हो कि भनेर स्थानीय चिन्तित छन् ।

हेर्नुहोस् भिडियो रिपोर्ट :

प्रतिक्रिया