५१ कम्पनीको सेयर मूल्यमा चलखेल, जोखिम मूल्यांकन गरी कारोबार गर्न धितोपत्र बोर्डको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहित जोखिम मूल्याङ्कन गरी कारोबार गर्न आग्रह गरेको छ । धितोपत्र बजार जोखिम मुक्त नरहेको भन्दै बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिमको आँकलन गरेर मात्र लगानी गर्न बाेर्डले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
बोर्डले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको पनि जनाएको छ । अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चन्द्रागिरी हिल्स, अप्पर तामाकोसी, हिमालयन डिष्टिलरी, महिला लघुवित्त, विशाल बजारलगायत ५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको जनाएको हो ।
खराब वित्तीय अवस्थामा रहेका ५१ वटा कम्पनीको सेयर मूल्यमा कर्नरिङ, सर्कुलर ट्रेडिङ र इन्साइडर ट्रेडिङ भएको निष्कर्ष निकालेको हो । यसरी चलखेल हुनेमा हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स समूहका कम्पनीहरू छन् ।
सेबोनले आशंकामा ५१ कम्पनीलाई अनुसन्धान गर्दा सो कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाएको हो । सेबोनका प्रवक्ता निरज गिरीले पहिलो चरणको अध्ययन प्रतिवेदनमा सो कम्पनीमा अप्राकृतिक रूपमा सेयर मूल्य बढेको पाइएको छ ।
‘बजारको सर्वमान्य सिद्धान्त अनुसार धितोपत्र बजार संधै बढी रहने मात्र नभई समय क्रममा घटबढ भइ रहने बजार हो । यस बजारमा हल्ला वा लहलहैमा लागेर लगानी गर्नु अत्यन्त जोखिमयुक्त हुन्छ’- बोर्डले विज्ञप्तिमा भनेकाे छ । कुनै पनि धितोपत्रमा लगानी गर्नुपूर्व उक्त कम्पनीको वित्तीय अवस्था र विविध परिसूचक बारे बढी भन्दा बढी जानकारी प्राप्त गरी आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता मुल्यांकन गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुने बोर्डको भनाइ छ ।
लगानीकर्ताको हित संरक्षणका लागि बोर्डले बजारका हरेक क्रियाकलापलाई नजिकबाट अध्ययन गर्ने गरेको र बजार सहभागीको जोखिमको स्तरलाई विश्लेषण गर्ने कार्य समेत गर्दै आएको छ । यसै सन्दर्भमा धितोपत्र बजारमा सूचिकृत रहेका हरेका संगठित संस्थाको सम्बन्धमा बोर्डले निरन्तररुपमा अध्ययन र अनुगमन गर्दै आएको छ ।
धितोपत्र बजारको जोखिमलाई मनन गरी लगानी गर्नका लागि बोर्डबाट भएको अध्ययनले लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय गर्न सहयोग पुगोस भन्ने आशयले प्रकाशित विवरणलाई समेत दृष्टिगत गरी लगानी सम्बन्धी निर्णय गर्न बोर्डले आग्रह गरेको छ ।
प्रतिक्रिया