मंगलबार, वैशाख ९, २०८२

५२ अंकले घट्यो नेप्से, १५ अर्ब ४८ करोडको सेयर किनबेच

नेपालखोज २०७८ असार २ गते १५:५२

काठमाडौं । नेप्से तीन हजार अंकबाट तल झरेको छ । अघिल्लो दिन तीन दशमलव ७२ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज (बुधबार) ५२ दशमलव ४१ अंकले घटेर २९ सय ६९ दशमलव ६९ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५६ अंकले घटेर पाँच सय ४१ दशमलव ७० अंकमा पुगेको छ । दुई सय १९ वटा कम्पनीको एक लाख ६७ हजार नौ सय ३८ पटकको कारोबारमा दुई करोड ८२ लाख ८९ हजार एक सय २८ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार तीन सय १९ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकामा लघुवित्त समूहको सूचक एक सय ३९ दशमलव ७४ अंकले बढेर बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ३३ अंकले घटेर एक हजार नौ सय ८१ दशमलव ४७ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक चार सय तीन दशमलव १३ अंकले घटेर १५ हजार ८१ दशमलव ४५ अंकमा पुगेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि चार सय पाँच दशमलव ८३ अंकले घटेर १८ हजार दुई सय ४१ दशमलव ३५ अंकमा पुग्दा विकास बैंक, जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहको सूचकहरू पनि उच्च अंकले घटेका छन् ।

आज सीईडीबी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९० प्रतिशतले बढेर सात सय ३३ रुपैयाँमा कारोबार हुँदा गोर्खाज फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेर १२ सय ८९ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज नेपाल पुनर्बिमा कम्पनीको प्रतिकित्ता १८ सय ५८ रुपैयाँ अन्तिम मूल्यमा ६० करोड ८९ लाख १९ हजार चार सय २६ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया