श्री ३ चन्द्रको पानीले भरिएको गाग्री बोकेर बेलायत यात्रा

जंगबहादुर तथा चन्द्रशमशेर बेलायत भ्रमणमा पुग्ने दुई राणा प्रधानमन्त्री थिए । दुवैको भ्रमणले एउटा नयाँ आयाम थपेको थियो । बेलायतीहरुका अगाडि नेपाल पनि विकसित राष्ट्रको आभास दिलाएर आएका थिए । दुवै यात्रामा दुवै प्रधानमन्त्रीले फ्रान्सलाई पनि प्राथमिकतामा राखेको पाउँछौ । जंगबहादुरले पनि फ्रान्सका राष्ट्रपति लुइस नेपोलियन बोनापार्टसँग भेटेका थिए । लुइस फ्रान्स क्रान्तिका अगुवा नेपोलियनका भतिजा अर्थात् भाइका छोरा थिए ।
यसको ५८ वर्ष बेलायत भ्रमणमा पुगेका भतिजा चन्द्रशमशेरले पनि फ्रान्सका राष्ट्रपति आर्मंड फेलियरलाई भेटेका थिए । दुईको भेट फ्रान्सेली बन्दरगाहको सहर मार्सिलीमा भेट भएको थियो । श्री ३ चन्द्रको पानीजहाज १९६५ वैशाख २५ को दिन फ्रान्सको बन्दरगाह मार्सिलीमा अडेको थियो जहाँ फ्रान्सका राष्ट्रपति उनलाई भेट्न आएका थिए ।
चन्द्रशमशेरले पनि आफ्नो बेलायत भ्रमणलाई निजी भ्रमण भनिए पनि बेलायत सरकारको विशेष निमन्त्रणा तथा सम्पूर्ण खर्च बेलायती सरकारले नै बहन गरिएको थियो । नेपाल एक स्वतन्त्र स्वाधीन राष्ट्रको प्रतिनिधिका रुपमा बेलायत भ्रमण गर्न लागेको हुँदा आफ्नो सत्कार तथा अन्य प्रबन्ध स्वतन्त्र राज्य प्रमुखको सरह मिलाउन भनेका थिए । साथै छलफलका मुख्य एजेन्डाहरु नेपालमा नै तय गरिएको थियो ।
घोडेजात्राको केही दिनमा १९६४ चैत २५ मा काठमाडौबाट निस्केका चन्द्रशमशेर १९६५ वैशाख २७ मा बेलायत पुगेका थिए । उनको टोलीमा परिवारका सदस्य तथा उच्च पदस्थहरु २२ जना थिए भने १९ जना नोकरचाकर पनि थिए । भाइ जुद्धशमशेर भतिजा रुद्रशमशेर, छोराहरु मोहनशमशेर, बबरशमशेर, केशरशमशेर, सिंहशमशेर थिए । सुब्बा गोविन्दप्रसाद ढुंगाना, डा. रत्नदास वैद्य, पण्डित काशीनाथ आचार्य दीक्षित, प्रिन्सिपल वटुकृष्ण मैत्र, भान्से बाहुनहरू हरिप्रसाद उपाध्याय, गौरीकान्त उपाध्याय, कमलाकान्त उपाध्याय, श्रीकान्त उपाध्यायलगायत र नोकरचाकरका रुपमा फोटोग्राफर दीर्घमान तथा जोगमान र अन्यमा जितमान, जयमान सिंह, धनकृष्ण, रत्नबहादुर, हरिशरण, कालु, हर्कनरसिंह, जनकलाल साथै निजी सचिवका रुपमा सरदार मरिचमान सिंहलाई पनि लगेका थिए ।
जंगबहादुर र चन्द्रशमशेरको बेलायत भ्रमणमा अर्को एक समानता थियो । दुवैले गाईखाने विदेशीले छोएको पानी खान हुन्न भन्दै गाग्रीमा पानी पनि लगेका थिए । खाना पकाउने भान्सेहरु पनि यतैबाट लगेका थिए । जब चन्द्रशशमशेर तथा उनको साथ पुगेका टोली पानीजहाजमा मार्सिली पुगे । मार्सिलीमा पानीजहाजबाट सामान सबै निकालेर फेरि कालाइसको लागि रेलमा जानु थियो । त्यसपछि फेरि बेलायतको डोभर पुग्नु थियो ।
यहाँ राखिएको तस्बिर फ्रान्सको बन्दरगाह मार्सिलीको हो । मार्सिलीमा चन्द्रशमशेरका सामानहरु पानी जहाजबाट निकाल्दै गर्दा पानीले भरिएका गाग्रीहरु निकाल्दै गर्दा फ्रान्सेलीहरु दंग परेर हेरिरहेको देख्न सकिन्छ । साथमा अन्य नेपाली कामदारहरु सामान निकाल्दै गरेको पनि तस्बिरमा देख्न सकिन्छ ।

तस्बिर : फ्रान्स-नेपाल दौत्य सम्बन्धको ७०औं वर्ष पुस्तकबाट
शब्द : सुनील उलक
प्रतिक्रिया