नितान्त एउटा सत्य
रामबाबु दाहाल
२०७८ असार ५ गते १०:००

सखारै
चिन्तनको डोब पच्छ्याउँदै प्रतिचिन्तनमा
प्रात: यात्रा विभिन्न पदचापमा
ध्वनित हुँदै
सडक, चउर र फाँटमा
निमग्न हिँडिरहेछ समय
निथ्रुक्क पसिना तप्प चुहिरहेछ
साँझ पिएको
बन्द बोतलमा बनेको
बाफको तरलताले
मादकतामा चढेको उन्माद
क्रमश: शिथिलतामा ह्रासोन्मुख
स्व-स्वखलित स्वाभिमानका अवयव
झुरुप्प सलबलाउँछन एकतमास
मान्छेको परिचय
मान्छेमा नै हराएर
खोजिएको वर्तमान
उदाउँदै गरेको सूर्यमा
मुसुक्क मुस्कुराउँदै छ
नितान्त एउटा सत्य ।
सम्बन्धित
प्रतिक्रिया