नेपाल टेलिकमद्वारा आईपी टीभी सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले भैरहवामा पनि आईपी टिभी सञ्चालन गरेको छ । टेलिकमका अनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आज आइतबारदेखि एफटीटीएच मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको हो ।
एनटी टिभी ब्रान्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण सुरु गरिएको हो ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए ।
टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्ले को अवधारणा कार्यान्वयनमा आउने भएको हो ।
हाल वितरित एनटी टिभीसेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकहरुलाई उपलब्ध हुनेछ ।
हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ ।
नेपाल टेलिकमले २०७७ पुष १७ गते (१ जनवरी २०२१) मा सर्वप्रथम एनटी टिभी सेवाको वितरण सुरू गरेको थियो । हाल यो सेवा काठमाडौ उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ ।
प्रतिक्रिया