बुधबार, वैशाख १०, २०८२

नेप्से २,८४३ अंकमा सीमित, यी हुन् बढी कारोबार हुने कम्पनी

सातामा ४९ अर्ब १२ करोड रुपैयाँको सेयर खरिद-बिक्री

नेपालखोज २०७८ असार ११ गते १४:१३

काठमाडौं । सेयर बजारमा यो साता पनि तीव्र उतारचढाव आएको छ । गत साता धितोपत्र बोर्डले सेयर बजारमा भएको नकारात्मक कार्य र चलखेल भएको भन्दै ५१ कम्पनीको नामावली नै सार्वजनिक गरेपछि धितोपत्र बजारमा एकाएक तरंग फैलिएको थियो ।

उक्त तरंगको असर यो साता पनि नेप्सेमा देखिएको छ । साताको सुरुवाती कारोबार दिनदेखि नै घट्न थालेको नेप्से साताको तेस्रो कारोबार दिन बढे पनि बाँकी दिनहरूमा उच्च अंकले घटेको थियो । सोही आधारमा यो साता नेप्से २८ सय ४३ अंकमा सीमित रहन पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २५ दशमलव ६४ अंकमा सीमित भएको छ । जसअनुसार दुई सय ३१ कम्पनीको पाँच लाख ३८ हजार दुई सय २६ पटकको कारोबारमा १० करोड २२ लाख ६५ हजार पाँच सय ४१ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसअनुसार यो साता कुल ४९ अर्ब १२ करोड १० लाख नौ हजार तीन सय ४१ रुपैयाँ कारोबार भएको छ । यो कारोबार रकम गत साताको भन्दा निकै नै कम हो ।

गत साता भने नेप्सेमा दुई सय २६ वटा कम्पनीको आठ लाख १५ हजार एक सय ३० पटकको कारोबारमा १५ करोड १७ लाख सात चार सय ८२ कित्ता सेयर खरिद–बिक्री भएका थिए । जसअनुसार उक्त सात कुल कारोबार रकम ८१ अर्ब ३५ करोड २३ लाख ८६ हजार एक सय ४७ रुपैयाँ पुगेको थियो ।

नेप्से यो साता पाँच दिन नै खुला रहेकामा पहिलो, दोस्रो, चौथो र पाँचौं दिन घटेको थियो । तेस्रो दिन भने नेप्से बढेको थियो । जसका आधारमा पहिलो कार्य दिन अर्थात् आइतबार ६२ दशमलव २८ अंकले घटेर २९ सय पाँच दशमलव १४ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिनसम्म आइपुग्दा १६ दशमलव ९६ अंकले घटेर दुई हजार आठ सय ४३ अंकमा सीमित हुन पुगेको थियो ।

यसैगरी सेन्सिटिभ पनि पहिलो दिन १२ दशमलव ६१ अंकले घटेर पाँच सय २८ दशमलव ५१ अंकमा सीमित हुन पुगेकामा यो साता अन्तिम दिन पनि तीन दशमलव १७ अंकले घटेर पाँच सय २५ दशमलव ६४ अंकमा सीमित हुन पुगेको थियो ।
नेपाल पुनर्बिमा कम्पनी, नेसनल हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको यो साता बढी रकम कारोबार भएका छन् ।

यसैगरी सेयर कारोबार भएको संख्याका आधारमा भने यो साता नेसनल हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदि अगाडि परेका छन् । पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

यो साता प्रभु सेलेक्ट फन्ड, नेपाल इन्स्योरेन्स कम्पनी, सारथि नेपाल लघुवित्त वित्तीय संस्था, कामना सेवा विकास बैंक आदिको म्युचुअल फन्ड, बोनस र हकप्रद सेयर नियमित कारोबारका लागि नेप्सेमा सूचीकृत भएका छन् ।

प्रतिक्रिया