पशुको व्यापार !

विचारको वधशालामा काटिएका
सहस्र पशुहरूको
अँध्यारो जुनी पार गरेर
मान्छेको कोखमा जन्म लियौ,
तर एउटा सत्यलाई नबिर्स-
अझै पनि तिमी पशु नै हौ !
तिमी पशुव्यापारीका
थाङ्ना धुन जन्मिएका हौ !
रङ्गीन झन्डाहरूको भारी बोक्न
सपनाको भित्तामा पोस्टर टाँस्न
र हरेक चुनावमा कुनै प्रश्न नगरी
एउटा भोट दिन जन्मिएका हौ !
तिमीले जुनीभर आफ्ना लागि
कहिल्यै भोट माग्ने छैनौ !
तिम्रो चुनावचिह्न
हुने छैन यस जुनीमा !
तिमीले संसार बदल्ने
कुनै विचार जन्माउने छैनौ !
तिमी आफ्नो आत्माको
मालिक बन्न सक्ने छैनौ !
चुनावमा भोट दिइसकेपछि
तिमी मासुको
निर्जीव थुप्रो मात्रै बाँकी रहनेछौ !
अनि आफ्नै मालिकलाई
कि उसका प्रतिद्वन्द्वीहरूलाई
गाली गर्दै रुनु
तिम्रो स्थायी पेसा हुनेछ !
जब पशुव्यापारीहरूले
बिस्तारै चिर्नेछन् तिम्रो छाला
र तिम्रै काँचो मासु बेचेर
वधशालामा हाँस्नेछन् तस्करहरू,
त्यसपछि मात्र
तिमीले चिन्नेछौ अपराधी
र आफ्नो काटिएको हात सम्झेर
मूर्छित हुनेछौ तिमी !
हे असल र बफादार पशु !
कुनै पशुबजारमा
बेचिनुभन्दा अगाडि यति सोच !!
प्रतिक्रिया