बुधबार, वैशाख १०, २०८२

नेप्सेमा ४७ अंककाे गिरावट, लघुवित्तबाहेक सबै समूहको सूचक घट्याे

नेपालखोज २०७८ असार १५ गते १५:४१

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन पाँच दशमलव ११ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार ४७ दशमलव ४९ अंकले घटेर २८ सय २८ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ८७ अंकले घटेर पाँच सय २३ दशमलव ७० अंकमा पुुगेको छ । नेप्सेमा आज दुई सय २३ वटा कम्पनीहरुको ७५ हजार आठ सय ८० पटकको कारोबारमा एक करोड ४० लाख ४४ हजार तीन सय ८१ कित्ता सेयर खरिद-बिक्री भएका छन् भने कुल सेयर कारोबार रकम ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार आठ सय ६९ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार हुँदा आज लघुवित्त समूहको सूचक २६ दशमलव चार अंकले बढेको छ भने बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् ।

तीमध्ये वाणिज्य बैंक समूहको सूचक २६ दशमलव ४४ अंकले घटेर १९ सय २३ दशमलव ९९ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ५१ दशमलव ५३ अंकले घटेर १४ हजार एक सय ३३ दशमलव ५७ अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय ६५ दशमलव ९८ अंकले घटेर १७ हजार एक सय ७२ दशमलव ४० अंकमा झरेको छ भने जलविद्युत, विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

आज ओरन्टल होटेल समूहको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ७६ प्रतिशतले बढेर ६ सय ६ रुपैयाँमा कारोबार हुँदा प्रोग्रेसिभ फाइनान्सको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ५५ प्रतिशतले घटेर तीन सय १० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज राधी जलविद्युत कम्पनीको प्रतिकित्ता सात सय ९० रुपैयाँ अन्तिम मूल्यमा ४९ करोड ८३ लाख २५ हजार नौ सय ५० रुपैयाँको कारोबार भएको छ । यो आज भएको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया