झन्डै १२ अंकले नेप्से घट्दा ४ अर्ब ५८ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन आठ दशमलव ४८ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुनः ११ दशमलव ७८ अंकले घटेर २८ सय २२ दशमलव ७३ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य चार अंकले घटेर पाँच सय २८ दशमलव ४१ अंकमा झरेको छ ।
दुई सय २४ वटा कम्पनीहरुको ५२ हजार आठ सय ४६ पटकको कारोबारमा एक करोड ६३ हजार ६ सय ३६ कित्ता सेयर खरिद-बिक्री हुँदा आज कुल कारोबार रकम चार अर्ब ५८ करोड २२ लाख १२ हजार पाँच सय ७९ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकामा आज आठवटा समूहको सूचक घटेका छन् । पाँचवटा समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव दुई अंकले घटेर १९ सय नौ दशमलव ४३ अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ५६ दशमलव ६२ अंकले घटेर १३ हजार आठ सय ६० दशमलव सात अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि एक सय ३६ दशमलव २२ अंकले घटेर १६ हजार नौ सय ५४ दशमलव ५४ अंकमा झरेकामा विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, फाइनान्स र लघुवित्त समूहको सूचक पनि घटेका छन् ।
ट्रेडिङ समूहको सूचक भने एक सय ३२ दशमलव दुई अंकले बढेर तीन हजार सात सय ९६ दशमलव ८६ अंकमा चढेकामा उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।
आज विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर पाँच हजार आठ सय ७९ रुपैयाँमा कारोबार हुँदा गोर्खाज फाइनान्सको प्रतिकित्ता सेयर मूल्य भने ६ दशमलव ३६ प्रतिशतले घटेर एक हजार ३० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता पाँच हजार ६ सय ८५ रुपैयाँ अन्तिम मूल्यमा ४१ करोड २० लाख ८९ हजार सात सय ३२ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबारमध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया