नेप्से २,८२४ अंकमै सीमित, सातामा २३ अर्ब २६ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा यो साता पनि तीव्र उतारचढाव आएको छ । साताको पहिलो कारोबार दिनदेखि नै लगातार घटेको नेप्सेले चौथो कारोबार दिनसम्म निरन्तरता पाएको थियो । साताको पाँचौं कारोबार दिन भने नेप्से बढे पनि कारोबार रकम बढ्न सकेन ।
सोही आधारमा पनि आम लगानीकर्ताहरुको लागि नेप्से यो साता सुखद देखिएन । यो साता नेप्से २८ सय २४ अंकमा पुगेर सीमित रहँदा सेन्सिटिभ इन्डेक्स पाँच सय २९ दशमलव ६६ अंकमा पुगेर सीमित रहेको थियो ।
जसअनुसार सातामा दुई सय २४ वटा कम्पनीहरुको दुई लाख ५७ हजार तीन सय ८२ पटकको कारोबारमा पाँच करोड ५८ लाख ४८ हजार पाँच सय १३ कित्ता सेयर किनबेच भएका छन् ।
सोही आधारमा यो साता कुल कारोबार रकम २३ अर्ब २६ करोड ११ लाख ५१ हजार तीन सय ६१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।
गत साता भने नेप्सेमा दुई सय २७ वटा कम्पनीहरुको तीन लाख ७७ हजार ६ सय २५ पटकको कारोबारमा १० करोड ३३ लाख ८८ हजार ६ सय ६६ कित्ता सेयर खरिद-बिक्री भएका थिए ।
जसअनुसार उक्त साता कुल कारोबार रकम ३४ अर्ब १६ करोड ५६ लाख ३४ हजार दुई सय ३२ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नै खुलेको भए पनि पहिलो दिनदेखि चौथो दिनसम्म नेप्से सूचक तथा कारोबार रकम दुवै नै उच्च अंकले घटेका थिए ।
अन्तिम कारोबार दिन भने नेप्से बढेको भए पनि कारोबार रकम बढ्न सकेन । जसका अनुसार पहिलो कारोबार आठ दशमलव ४८ अंकले घटेर २८ सय ३४ दशमलव ५१ अंकमा सीमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिनमा भने २३ दशमलव ७६ अंकले बढेपछि दुई हजार आठ सय २४ दशमलव ८९ अंकमा कायम रहन सफल भएको थियो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो कारोबार दिन शून्य दशमलव ३३ अंकले घटेर पाँच सय २८ दशमलव ४५ अंकमा सीमित रहन पुगेकामा अन्तिम कारोबार दिन चार दशमलव ४१ अंकले बढेर पाँच सय २९ दशमलव ६६ अंकमा पुग्न सफल भएको थियो ।
यो साता नेसनल हाइड्रो पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, अरुण काबेली पावर लिमिटेड आदिको बढी रकम कारोबार भएका छन् भने नेसनल हाइड्रो पावर कम्पनी, अपर तामाकोसी हाइड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर कारोबार भएका छन् ।
यसैगरी पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
सेयर सूचीकरणतर्फ भने यो साता निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, सांग्रिला डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त वित्तीय संस्थासहितका सातवटा संस्थाको बोनस तथा ऋणपत्र नियमित कारोबारका लागि सूचीकृत भएका छन् ।
प्रतिक्रिया