विवादमा दिलीपकुमार, यस्तो रह्यो सायरासँगको प्रेम सम्बन्ध !

काठमाडौं । प्रसिद्ध भारतीय कलाकार दिलीपकुमार जसले एक समयमा आफूभन्दा २२ वर्ष कान्छी सायरा बानोसँग विवाह गरेका थिए । बलिउडका केही अनौठा प्रेम कहानीहरूमध्ये दिलीपकुमारको प्रेम कहानी पनि एक हो । दिलीप उस समयका धेरै चर्चित सिने स्टार्समध्ये एक थिए । उनी आफूले गर्ने उल्लासमय क्रियाकलाप एवं मनोरञ्जन गर्नेहरूमध्येमा सिनेमा जगतमा प्रसिद्ध थिए । आफ्नो प्रेम जीवनको सिलसिलामा दिलीपकुमार विवादमा रहिरहे । दिलीपकुमार यो संसारमा नरहे पनि उनी र सायराको प्रेम चर्चा विभिन्न अवसरमा बलिउड कलाकारबीच खुबै चल्ने गर्छ ।
दिलीपकुमारले जीवनमा निकैजनासँग प्रेम गरे । उनको जिन्दगीमा पहिलो प्रेमिकाको रुपमा आएकी थिइन् कलाकार कामिनी कौशल । दिलीपको कामिनीसँग पहिलो गफगाफ सहिद नामको फिल्म सुटिङ हुँदा भएको थियो । दिलीप र कामिनी दुवै विवाह गर्न चाहान्थे । तर , समस्या यो थियो कि कामिनीको पहिले नै विवाह भइसकेको थियो । तीन वर्षसम्म दुवैबीच भएको गहिरो प्रेम सम्बन्ध त्यसपछि भने टिक्न सकेन ।
दिलीपकुमारको अर्को प्रेम प्रसंग पनि रोचक छ । उनको जम्काभेट सन् १९५१ मा तराना नामको फिल्म सुटिङका सिलसिलामा मधुबाला नामकी अभिनेत्रीसँग भयो । उनको यो प्रेम सुरुवात मधुबालाको प्रेम प्रस्तावअनुसार नै अघि बढ्यो । उनीहरूबीच प्रेम यसरी झाँगिदै गयो कि मधुबालालाई भेट्नका लागि दिलीप बारम्बार सुटिङ स्थलमै पुग्थे ।
त्यस समयमा दुवैको प्रेम कहानीले खुबै चर्चा बटुलेको थियो । दुवैबीच प्रेम सम्बन्ध गहिरो हुँदै जाँदा मधुबालाका पिता अताउल्ला खाँले उक्त प्रेमलाई रुचाएनन् । उनी दुईजनाको सम्बन्धको सख्त विरोधमा उत्रिए । यतिसम्म दिलीपसँगको सम्बन्धबाट टाढा राख्नका लागि छोरीलाई कामबाहेक घरबाट बाहिर ननिस्कन उर्दी पनि गरे । दिलीप मधुबालाले सुटिङमा गइरहेको कुरा जब अताउल्लाले थाह पाए, त्यसपछि उनी पनि सुटिङ स्थलमै पुगेर छोरीको ख्याल राख्न थाले ।
यस्तैयस्तै कारणले विस्तारै-विस्तार उनीहरूको प्रेम सम्बन्ध ऐना चर्किएझैं चर्किन थाल्यो । दिलीप र मधुबालाको सम्बन्धको कुरा इन्गेजमेन्टसम्म पुगेको थियो । तर विवाह भएपछि फिल्ममा अभिनय नगर्ने सर्त दिलीपले राखेका थिए । यस्तै उनले आफ्ना पितासँग पनि टाढा रहनुपर्ने सर्त तेर्स्याए । तर मधुबाला आफ्नो पितालाई धेरै माया गर्थिन् । उनलाई दिलीपको प्रस्ताव पटक्कै मन परेन । त्यसपछि दुवैबीचको सम्बन्धमा चिसोपन बढ्न थाल्यो । केही दिनको विवादपछि सम्बन्ध टुटेर गयो ।
जोसँग प्रेम भए पनि अन्ततः दिलीपकुमारको विवाह सायरा बानोसँग हुन्छ । उनी प्रसिद्ध अभिनेत्री थिइन् । जसले आफ्नो सौन्दर्य अनि प्रतिभाशाली अभिनयका कारण फिल्मी दुनियाँमा नाम र दाम दुवै कमाएकी थिइन् । यस्ती अभिनेत्री सायरा आफूभन्दा २२ वर्ष जेठो दिलीपकुमारसँग आकर्षित भइन् । दुवै मिलेर गोपी, बैराग, संगिता महतोजस्ता फिल्ममा काम गरे । अन्ततः ११ डिसेम्बर १९६६ मा दिलीपकुमारले आफूभन्दा २२ वर्ष कान्छी सायरासँग विवाह गरे । ११ डिसेम्बर बलिउडको दुनियाँमा यादगार ऐतिहासिक दिन मानिन्छ । लाखौं युवतीको मन (दिल) मा राज गर्ने दिलीपकुमार प्रेम जीवनको खेलमा अन्ततःसायराको दिलको मालिक बनेका थिए ।
–विभिन्न सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया