फेरि विवादमा रजतपट

काठमाडौं । असार २४ गते साँझ एपिवान टेलिभिजन तथा रजतपट अनलाइन युट्युब च्यानलबाट प्रशारित कार्यक्रम रजतपटमा आफ्नो विषयमा अतिरञ्जित र भ्रमपूर्ण रिपोर्ट प्रशारित गरिएको कुरा बताउँदै अभिनेत्री गरिमा शर्माले त्यसमा गम्भीर आपत्ति जनाएकी छन् । कलाकार शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै एपी वानबाट प्रशारित कार्यक्रम रजतपटले आफ्नो चरित्र हत्या गरेको आरोपसमेत लगाएकी छन् ।
विज्ञप्तीमा भनिएको छ – म केही समयदेखि कलाकारितामा छु । यो क्षेत्रमा रहँदा सकेसम्म विवादमा नफस्ने कोसिस गर्दा गर्दै पनि जबरजस्ती विवादमा तानिन्छ । नेपाली कला क्षेत्र र कलाकारहरुलाई प्रोत्साहित गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम एवं प्रस्तोता नै भ्रमित सामग्री प्रसारण गरी कलाकारहरुलाई अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यमा लागेकोमा म त्यसको घोर भर्त्सना गर्छु ।
गरिमाले केही दिन अघि टिकटक लाइभका क्रममा हाँसो ठट्टामा बोलिएका संवादका टुक्रा टुक्री तानेर उक्त सामग्री प्रसारण गर्नु सरासर गलत भएको बताएकी छन् । गरिमाले भनेकी छन्, ‘उक्त संवाद कसरी सुरु भएको थियो र के सिलसिलामा थियो भन्ने स–प्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अपलोड गरिसकेको छु, उक्त सामग्री हेरि सकेपछि थप प्रष्ट हुनेछ।’
गरिमाले एपिवानको विवादास्पद रिपोर्ट सार्वजनिक हुनु अघि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसंग टेलिफोन सम्पर्क भै टिकटकको उक्त सामग्री सामान्य रहेको र हाँसोठट्टाका लागि मात्र भएको जानकारी गराएको कुरा उल्लेख गर्दै बदनियतपूर्ण ढंगले समाचार प्रसारित गरी आफूमाथि गम्भीर अन्याय गरिएको दाबी गरेकी छन् ।
शर्माले न्यायका निम्ति आफू सम्बन्धित निकायसम्म पुग्न बाध्य भएको कुरा बताए पनि त्यो निकाय प्रहरी, प्रेस काउन्सिल, महिला आयोग, पत्रकार महासंघ, कलाकार संघ, मानवअधिकार आयोग आदि मध्ये कुन हो बताएकी छैनन् । कलाकार शर्माले यस खालको भ्रामक र बदनियतपूर्ण खबरप्रति विश्वास नगर्न पनि आमदर्शक एवं शुभेच्छुकहरुमा अपिल गर्दै आफूमाथि परेको अन्यायका विरुद्ध आवाज बुलन्द गरिदिन सबैमा अनुरोध गरेकी छन् ।
रजतपटको बिहीबारको कार्यक्रममा मोडल तथा गायक दुर्गेश थापा र कलाकार गरिमा शर्माबीच टिकटक लाइभको क्रममा भएको सुन्नै नसकिने सामग्री भन्दै उनीहरुको कुराकानी र सम्बन्धमा आधारित रिपोर्ट प्रशारित गरिएको थियो ।
प्रतिक्रिया