डोटीमा उच्च गतिको इन्टरनेट एफटीटीएच सेवा वितरण
डोटी । पछिल्लो समय जिल्लामा इन्टरनेटको माग बढेसँगै जोरायल गाउँपालिका-२ बुडर बजार तथा यहाँ रहेका सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको ताररहित इन्टरनेट सेवा एफटीटीएच सेवा वितरण गर्न थालेको छ ।

नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गर्न थालेको छ ।
उक्त टेलिफोन सेवाबाट फोन, इन्टरनेट तथा ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । बुडर बजारलगायत अन्य अन्य निजी घर तथा कार्यालयमा उक्त सेवा वितरणका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम राजपुरले जनाएको छ ।
जिल्लाका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर, दिपायल तथा सिलगढीमा उक्त सेवा वितरण गरिएपछि अहिले यहाँका अन्य बजारमा सेवा वितरण गर्ने कार्य सुरु गरिएको हो ।
यसअघि यो सेवा काठमाडौंमा मात्रै सुरु गएिको थियो । नेपाल टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपानेले केही महिना पहिले पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा पहिलो पटक उक्त एफटीटीएच सेवाको औपचारिक सुरु गरेसँगै अहिले आएर उक्त सेवा जोरायल-२ बुडर क्षेत्रमा विस्तार गर्न थालिएको नेपाल टेलिकम राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए ।
नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
त्यसअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबीपीएसको प्याक जम्मा आठ हजार रुपैयाँ शुल्क लाग्ने छ । हाल एफटीटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीईं) र १०० मिटर फाइबर तार निःशुल्क प्राप्त प्रदान गरिने टेलिकम कार्यालयले जनाएको छ ।
जिल्लामा यसअघि एडीएसएल र फोरजी सेवा विस्तार गरिँदै आए पनि अबदेखि नौवटै स्थानीय तहमा एफटीटीएच सेवा सञ्चालन गरिने भएको छ ।
जिल्लाका नौवटै स्थानीय तहमा यो सेवा विस्तार गरिएसँगै यहाँका अन्य छिमेकी जिल्ला डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुराका सबै स्थानीय तहमा पनि सेवा विस्तार गरिने टेलिकमको योजना छ । रासस
प्रतिक्रिया