आइतबार, वैशाख ७, २०८२

अन्तरिक्षको पहिलो पर्यटकीय यात्रा सम्पन्न, एउटा नयाँ युगको प्रारम्भ

नेपालखोज २०७८ असार २८ गते ९:१२

काठमाडौं । भर्गिन ग्यालेक्टिकका रिचर्ड ब्रेनसन आफ्नो स्पेस प्लेन ‘भर्गिन वीएसएस यूनिटी’ बाट करीब सवा घण्टा लामो अन्तरिक्ष भ्रमण पूरा गरि पृथ्वीमा फर्किएका छन् । आइतबार राति सम्पन्न यो यात्राका लागि ब्रेनसनले न्यू मेक्सिकोको दक्षिणी मरुभूमिबाट अन्तरिक्ष उडान भरेका थिए ।

नेपाली समय अनुसार राति सवा आठ बजे शुरू भएको अन्तरिक्षको यो पहिलो पर्यटकीय यात्रा सवा घण्टापछि अर्थात राति करिब साढे नौ बजे सकिएको थियो । यो यात्रामा अर्बपति व्यापारी रिचर्ड ब्रेनसनसँगै चालक दलका दुई र थप दुईसहित बाँकी चार सदस्य पनि भर्गिन ग्यालेक्टिक कम्पनी कै कर्मचारी थिए ।

आफ्नो अन्तरिक्ष उडान पहिले भर्गिन ग्रुपका मालिक रिचर्ड ब्रेनसनले यो यात्रा ऐतिहासिक भएपनि आफु केहि नर्भस भएको स्वीकार गरेका थिए । ब्रेनसनकाअनुसार आगामि वर्ष अन्तरिक्ष पर्यटनको व्यावसायिक उडान सुरु गर्नुअघि उनी आफैले यात्रीका रुपमा यसको अनुभव मूल्यांकन गर्न चाहन्थे । ब्रेनसनले यो उडानको उदेश्य अन्तरिक्ष पर्यटनको युग प्रारम्भ गर्नु रहेको बताएका छन् । यो ऐतिहासिक उडानसँगै ब्रिटिस व्यापारी रिचर्ड ब्रेनसनले नयाँ इतिहास बनाएका छन् । ७० वर्षको उमेरमा उनले प्राइभेट प्लेनमार्फत अन्तरिक्षको यो सफल पर्यटकीय भ्रमण गरेका हुन् ।

रिचर्डले यो यात्राका क्रममा प्लेनबाट खिचिएका केहि तस्वीर ट्वीटरमा शेयर गर्दै लेखेका छन् । ‘स्पेस युगको नयाँ बिहानीमा तपाईंलाई स्वागत छ ।’ संसारका कैयन अर्बपति सबैभन्दा पहिले स्पेसको यात्रा गरेर इतिहास रच्न चाहन्थे तर यसमा बाजी चाहिँ ब्रेनसनले मारे ।

यो स्पेस एक्सप्लोरेशनसँगै प्राइभेट स्पेस ट्राभलको नयाँ युग पनि शुरू भएको छ किनभने अब केहिदिन पछि नै संसारकै सर्वाधिक धनी अमाजोन कम्पनीका जेफ बेजोस पनि अन्तरिक्षको यात्रामा जाँदै छन् । बेजोसको एउटा कम्पनीले स्पेसको भ्रमण गर्न चाहनेहरुका लागि बुकिङ नै लिन थालिसकेको छ ।

प्रतिक्रिया