आइतबार, वैशाख ७, २०८२

नागरिक एपद्वारा आईफोन प्रयोगकर्ताका लागि नयाँ अपडेट जारी

नेपालखोज २०७८ असार ३० गते ७:०४

काठमाडौं । नागरिक एपले आईओएसका लागि नयाँ अपडेट जारी गरेको छ । एन्ड्रोइडका लागि यस अघि नै जारी भइसकेको अपडेट आईओएसमा भने भर्खरै मात्र सार्वजनिक भएको हो ।

आईफोन प्रयोगकर्ता हो भने आईओएसमा एप स्टोरमा गएर नागरिक एपको पछिल्लो भर्सन (१.९.८) डाउनलोड गर्न सक्नेछन् । यो नयाँ अपडेटसँगै यातायात कार्यालयमा रहेको आफ्नो सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी कर विवरण आदि जानकारीहरू हेर्न सकिनेछ ।

त्यसो त सवारीसाधनको विवरण हेर्न मात्र नभई नागरिक एपबाटै तिर्न बाँकी रहेको राजस्व र जरिवाना समेत भुक्तानी गर्न सकिनेछ । साउन १ गतेदेखि भुक्तानीको विकल्प समेत नागरिक एपमा आउने बताइएको छ । पहिलो चरणमा बागमती प्रदेश अन्तर्गतका सवारीसाधनलाई यो एपमा जोड्न थालिएको हो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै राजस्व भुक्तानी, नवीकरण, जरिवाना, अन्य दस्तुर तथा बीमा सम्बन्धी कार्यहरूलाई अनलाइन प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाउन लागिएको छ ।

नागरिक एपको नयाँ अपडेटमा देखिने ‘सवारी कर’ अन्तर्गत यी सुविधाहरू उपलब्ध हुनेछन् । हाल नागरिक एपमा स्थायी देखा नम्बर (प्यान) लिने, प्रहरीको चारित्रिक प्रमाणपत्र लिने, मालपोतको जानकारी तथा आफ्नो जग्गा विवरण हेर्ने, बैंक खाता खोल्ने लगायतका सुविधाहरू समेत उपलब्ध छन् ।

प्रतिक्रिया