प्रेम, घृणा र विरक्तिको एउटा नीति कथा !

सेनापतिले पनि त्यो फल आफूले न खाएर उसले प्रेम गर्ने त्यो राज्यको एउटी राम्री वेश्यालाई खान दियो ।
महाकवि भर्तृहरि संस्कृत साहित्यको ठूलो विद्वान् मानिन्छन् । संस्कृत साहित्यको इतिहासमा उनी एक नीतिकारका रुपमा प्रसिद्ध छन् । उनको रचना नीतिशतक, शृंगारशतक र वैराग्यशतक भन्ने पुस्तकले हिन्दु धर्मावलम्बीलाई प्रभावित पारेको देखिन्छ । भर्तृहरि उज्जयनका राजा थिए । यो इस्वी संवत ५५० पूर्वतिरको कुरा हो भनिन्छ । उनी राजा चन्द्र गुप्तको ठूलो दाइ थिए । उनी धर्मात्मा राजा पनि थिए ।
भर्तृहरिको एउटा लोककथा प्रसिद्ध छ । उनी राजा भएका बेला राजपाठ सञ्चालन गर्दागर्दै जीवनबाट कसरी विरक्त भएर संन्यासी बने भन्ने यो कथाले बताउँछ जसलाई कसै-कसैले सत्य नभई किंवदन्ती पनि भन्छन् ।
भर्तृहरि राजा भएको समयमा कुनै एउटा जोगीले दरबारमा आई उनीसँग खुसी भई उनलाई जवान नै रही अमर पनि हुने एउटा फल खान दिएको थियो । तर उनले त्यो फल नखाएर आफूले ज्यादै माया प्रेम गर्ने आफ्नी कान्छी (श्रीमती) रानी पिंगलालाई सधैं जवान र राम्री देखिन्छे भनेर उक्त फलको गुण बताई खान भनेर दिए । तर, अफसोच ! रानी पिंगलाचाहिँ राजा भृर्तहरिलाई भन्दा ज्यादा आफ्नो राज्यको जवान सेनापतिलाई माया-प्रेम गर्थिन् । त्यसैले उनले त्यो फल नखाई सेनापतिलाई खान दिइन् ।
अफसोच ! सेनापतिले पनि त्यो फल आफूले न खाएर उसले प्रेम गर्ने त्यो राज्यको सहरको एउटी राम्री वेश्यालाई खान दियो । ऊ रानीसँग प्रेम नगरेर त्यो वेश्यासँग प्रेम गर्दो रहेछ र उसले पनि आफ्नो प्रेमिका सधैं राम्री र जवान देखिन्छे भन्ने लाग्यो । तर त्यहाँ पनि अफसोच ! वेश्याले के सोची भने यो मेरो नारकीय र दुखित वेश्या जीवनमा म किन सधैं जवान र अमर भई रहुँ र अझ घृणाको पात्र भई सधैं बाँचिरहुँ । योभन्दा त राम्रो त जनतालाई हेर्ने, हाम्रो राज्यको धर्मात्मा राजा भर्तृहरिलाई नै खान दिन्छु । उनले यो खाए भने सधैं जवान र अमर रही राज्य र जनताको भलो त गरिरहन्छन् भनेर उ राजा भृर्तहरिकहाँ गएर उनलाई त्यो फल खान अनुरोध गरी राजाले त्यो फल चिने, यो फल कसरी वेश्याकहाँ पुग्यो भन्ने सारा कुरा पनि थाहा पाए । त्यसपछि यो मेरो जीवन धिक्कर रहेछ भनी उनी जीवन र जगत्देखि विरक्त भएर राज पाठ त्यागी संन्यासी बनी गीत गाउँदै गाइने जीवन बिताउँदै देश-देशान्तर जीवनभरी भ्रमण गरी बाँकी जीवन बिताए भन्ने लोककथा छ ।
प्रतिक्रिया