बिहीबार, वैशाख ११, २०८२

देउवा सरकारलाई कलाकारकाे शुभकामना

नेपालखोज २०७८ साउन ४ गते ११:५०


सरोज खनाल, वरिष्ठ अभिनेता
‘आस गरौ भर नपरौँ’ दुई तिहाई सरकारको अकर्मण्यताले कठिन परिस्थितिमा देश र गठबन्धन सरकारको बागडोर सम्हाल्ने मौका मिलेको छ, देश र जनताको लागी केही गर्न सके इतिहासमा सम्झने छन्।

दीपकराज गिरी, अभिनेता, वरिष्ठ कलाकर्मी
यो सरकार निक्कै ठूलो संवैधानिक संकटबाट गुज्रिँदै यहाँसम्म आएको हो । यो बीचमा धेरै राजनीति तिक्तता उत्पन्न भए । लगभग केपी ओली इतरका सम्पूर्ण शक्तिहरू मिलेर बनेको यो सरकारको अगाडि चुनौतीका पहाडहरू ज्यूँ का त्यूँ छन् । अझ भनौं अनेकौं शक्तिहरूको आ–आफ्नै राजनैतिक स्वार्थ र अपेक्षाको जगमा उभिएको छ यो सरकार । एकातिर कोभिडले आक्रान्त बनेको अर्थव्यवस्थालाई उकास्ने चूनौति छ भने अर्कोतर्फ ओली सरकारले गरेका गल्तीहलाई सच्याउँदै उसका पपुलर कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बाध्यात्मक अबस्था पनि छ । शेरबहादुर देउवालाई केहि हदसम्म एउटा मौका पनि छ। उनका विगतका शासनको समय कुनै पनि सम्झन योग्य छैनन्, थुप्रै आलोचनाबाट गुज्रेको उनको कार्यकाललाईअझै पनि जनताले भुलेका छैनन् । यो कार्यकालमा उनले आफ्नो शैलीमा परिवर्तन गरेर लोकप्रिय तथा माटो सुहाउँदो नीति-कार्यक्रम ल्याएर त्यसलाई सबैको सहकार्यमा सफल बनाइ आफूलाई प्रमाणित गर्ने सुनौलो अवसर भने पक्कै छ ।
तर थरि/थरिका दल र तिनीहरूको आ-आफ्नै राजनीतिक स्वार्थहरूको चाङ अनि सत्ता परिवर्तनको लामो एक्सरसाइजबाट घाइते बनेको प्रतिपक्ष उनका योजनाका बाधक बन्ने सम्भावना पनि उत्तिकै छ । नयाँ सरकारलाई शुभकामना !

रमिला न्याैपाने, गायिका
म राजनिति खासै बुझ्दिनँ तर पनि कोरोनाले देश थलिएको बेला जसको सरकार आए पनि देश र हामी जनताको हित हुने काम गरोस् सबै जनतालाइ छिटोभन्दा छिटो कोरोना बिरुद्धको खोप उपलब्ध गराओस् ।

रविन सायमी, कार्टुनिस्ट
चार पटक प्रधानमन्त्री हुँदा गरेका गल्तीहरूबाट सिकेर देश र जनताले मागेको सुशासन देउ बा !

प्रमोद खरेल , गायक
कृपया १ वर्षपछि यस्तो चै नहोस्
प्रचण्ड– हामीले जुन हिसाबले प्रम बनायौ,एकलौटी बहुमत सरकार जस्तो गरी धोका र बेइमानी भो
देउवा– काम गर्ने वातावरण नै दिइएन ।
ओली– आमाको दूधले नभएर बाउको घुँडो चुस्दा हुन्छ र?
बाबुराम– खड्ग प्रहारबाट बचाइयो तर फेरि हामी चुक्यौ ।
कार्यकर्ता– मेरो नेता जिन्दाबाद, जिन्दाबाद ।
जनता– हेर्या हेर्यै ।

शिव परियार, गायक
संगीतको बिषयमा भनौँला जे भने पनि, यो राजनितिक कुरामा नबोलौँ होला ।

शोभिता सिंखडा, साहित्य/कलाकर्मी
नयाँ सरकारलाई बधाई ! राष्ट्रको अहितमा कुनै काम नगरोस् । सरकार सञ्चालन बालुवाटारबाट होईन, सिंहदरबारबाट होस् । पाएको अवसर निक्कै चुनौतिपूर्ण तरिकाले प्रमाणित गरेर देखाउनका लागि शुभकामना !

हेमन्त शर्मा , गायक
भनेर बोली खेर नफालौँ कि ?

उज्जु डार्लीङ, कलाकार
सरकार आफैमा बालियो हुनुपर्छ,विगतको सरकारजस्तो एकलकाँटे हुनु हुन्न। देउवा सरकारले विषम परिस्थितिमा पाएको मौका हो । अब जनतालाई हात्ती आयो हात्ती आयो फुस्स अनुभव नहोस् । देउवा नेतृत्वको सरकारलाई शुभकामना ।

तृष्णा गुरुङ, फेसन डिजाइनर
अस्थिर राजनितिक अवस्था र कोभिड-१९ को लामो समयदेखिको मारले सम्पुर्ण नेपालीको दिनानुदिन खस्कँदो आर्थिक अवस्थामा नेपालीहरुले केवल दिगो राजनितिक र सफल व्यवसायिक आर्थिक बृद्धिदर र सुनिश्चित नेपाल र नेपाली भविष्य खोजी रहेका बेला देशमा दुईतिहाइको प्रधानमन्त्री र सरकार असफल भई मिलीजुली सरकार बनेको यस समयमा देशले खोजेको निकास दिन सक्नुहोस् भनी हाम्रो नेपालका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालगायत नया मन्त्रिमण्डललाई हार्दिक शुभकामना ब्यक्त गर्दछु । नेपाल र नेपाली प्रति घात नहोस् भन्ने सुझाव दिन चाहन्छु ।

यम बराल, गायक
शुभकामना छ यसले यसो गर्यो उसले उसो गर्यो भन्ने यो समय हैन जनताको जनादेशलाई मध्यनजर राख्दै देश विकासमा अघि बढ्नु होला । मुख्यतः यो समय जनताको जीवन रक्षाको बिषय मुख्य समस्या हो । निदानका लागी हर प्रयासमा द्रुत गतीमा अघि बढ्नु होला ।

सुब्बा हर्ष, पत्रकार
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार गठबन्धन सरकार भएको बिर्सन हुन्न । यो सरकारले तत्काल मुलुक र जनतालाई कोभिडबाट सुरक्षीत गर्न पूर्णरुपमा खोप दिलाउनु पर्छ । दीर्घकालिन रुपमा संघीय लोकतन्त्रलाई स्थायित्व दिलाउन जिल्ला प्रशासन खारेज गरेर प्रदेश र स्थानिय सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्दछ । अन्यथा संघीयता समाप्त गरेर तानाशाह बन्न चाहने अलोकतान्त्रिक नेताहरुले फेरी टाउको उठाउनेछ । नेपाली कांग्रेसको हित पनि यसैमा छ ।

नवल नेपाल, कलाकार, निर्देशक
विगतका सरकारबाट अपेक्षित नतिजा आउन नसकिरहेको अवस्थामा नयाँ सरकारट ठूलो अपेक्षा त छैन, र पनि आस गर्ने उहाँहरु बाट नै हो। आजको कोभिडले आक्रान्त पारेको अवस्थामा सबै तह र तप्कामा छिटोभन्दा छिटो खोप पुर्याउन सरकार सफल होस् ताकी ढुक्कले आफ्नो व्यापार/ब्यवसाय गरेर जनताले सहज महसुश गरून्। ढुक्कले काम गरेर खान पाइयोस् । रोजगारीका लागि बिदेश जाने नेपालीको संख्या घटोस् । अघिल्ला सरकारले चालेका सकरात्मक कदमले निरन्तरता पाओस् हाललाई यति भए पुग्छ।

गोबिन्द गिरी प्रेरणा , साहित्यकार
म त अमेरिकावासी एनआरएन परेँ । सात समुद्र पारी बस्ने नेपालीले नेपालको उन्नती ,प्रगति होस्, संसारमा नेपालको नाम प्रतिष्ठित होस् । त्यो काम नेपालको सरकारले तथा नेपालमा जन्मेर संसारमा फैलिएका सबै नेपालीले गरौं । यो काममा नयाँ सरकारले ध्यान देओस् !

रवि डंगोल, कलाकार
जनताको काम एकातिर, अब एमसिसी बोक्छ काँध तिर । ससुरालीको अपुताली पाए जस्तै हो यो सरकार देउवालाई !

प्रतिक्रिया