आइतबार, वैशाख ७, २०८२

‘महानगरले गरिखानै दिएन’ (भिडियो रिपोर्ट)

केशव भट्टराई २०७८ साउन ८ गते १२:०४

काठमाडौंमा फुटपाथ व्यवसायीको सामान जफत गर्ने महानगरको नीतिमा झन् कडाइ गरिँदै, शुक्रबार र शनिबार भने रात्रि बजार सञ्चालन गर्ने महानगरको योजना

काठमाडौं ।

कसरी हो आँप ?
१३० रुपैयाँ किलो ।
सयमा हुँदैन ?
११० दिनुस्
ल सय दिएँ
लानू लानू !

नन्दकिशोर मण्डलको स्थायी घर सर्लाही हो । साइकलमा सिजनअनुसारका फलफूल घुमाउँदै (डुलाउँदै) ग्राहकसँग मोलमोलाई गर्दै काठमाडौंमा डुलेको २३ वसन्त पुगिसक्यो । साइकलको क्यारियरमा बडेमानको जालीवाला डालो राखेका छन् । डालोमा ७० किलो आँप अटाएको छ भने अलिअलि स्याउ र केरा पनि राखेका छन् । हेर्दाहेर्दै तीन ग्राहकले तीनैथरीको फलफूल किने । पैसा सर्लक्क गोजीतिर राखे मण्डलले ।

साइकललाई बेलाबेला फुटपाथमा राखेर, कुनै बेला घुमाउँदै अनि नगर प्रहरीको आँखा छल्दै तरकारी, फलफूल, मकैलगायत बेच्ने गर्छन् फुटपाथ व्यवसायीहरू । फुटपाथको व्यवसायले उनीहरुको दैनिकी चलेको छ । साथै व्यवसायकै क्रममा उनीहरुमाथि बेलाबेला विभिन्न चुनौतीहरु पनि आइलाग्छन् ।

फुटपाथमा फलफूल, तरकारी, मकै, चटपटेलगायत बेचेर धेरै कमले मात्र घरजग्गा जोडेका होलान् । तर अधिकांशलाई काठमाडौंमा कोठाभाडा तिर्न, छोराछोरी पढाउन र साधारण उपचार गर्न भने मज्जैले पुगेको छ । नन्दकिशोरले आफू, श्रीमती र चार छोराछोरीको खर्च मज्जाले धानेका छन् । पहिलो लहरको कोरोना संक्रमणसँगैको लकडाउनदेखि भने केही फुटपाथ व्यवसायी काठमाडौंबाट पलायन भए । केहीले भने मुस्किलले जीवन गुजारा गरिरहेका छन् ।

फुटपाथमा फलफूल, तरकारीलगायत विभिन्न सामानको व्यापार गर्न काठमाडौं महानगरपालिकाले वर्जित गरेको छ । मुख्यचोकमा त उनीहरू बस्ने कुरै भएन । नगर प्रहरीको डरले अधिकांशले भित्री गल्लीमा लुकीलुकी फुटपाथमा ठेला, साइकल राखेर वा नराखीकन पनि छाक टार्न व्यापार गर्नुपर्ने बाध्यता छ ।

दोलखाको चरिकोट घर भएकी ठूली तामाङ पनि ठेलामा व्यापार गर्छिन् । श्रीमान्‌ले दोस्रो विवाह गरेर यातना दिए उनलाई । घरमा बस्नै नसक्ने अवस्था भयो ठूलीको । तीन महिनाको छोरो च्यापेर काठमाडौं हान्निइन् । ज्यामी गरेर कमाएको पैसाले सडक किनारामा ठेला राखेर चटपटे बेच्न थालिन् । यसबाटै उनको जीवन भरथेग चल्यो । अनेकौं कष्ट सहँदै उनले फुटपाथमा मकै र चटपटे बेच्न थालिन् । यस्तो गर्दागर्दै उनको २४ वर्ष बित्यो । सिजनका बेला ठूली दुई महिना मकै बेच्छिन् भने बाँकी महिना चटपटे । फुटपाथको व्यापारबाट छोरो पढाएर कोठाभाडा तिर्न र खाने खर्च मज्जाले पुगेको छ उनलाई । ‘६ हजार कोठाभाडा तिर्छु । खाने खर्च पुगेकै छ । अलिअलि बचत पनि गर्छु,’ उनी भन्छिन्, ‘तीन महिनादेखिको छोरो हुर्काएँ, पढाएँ । अहिले त छोरो पनि कमाउने भएको छ, बाँच्न गाह्रो छैन ।’ तर फुटपाथमा सामान बेच्दा नगर प्रहरीसँग भाग्नुपर्ने, लुकेर बेच्नुपर्ने र सामान लगिदिने हो कि भन्ने चिन्ताले सताइरहन्छ उनलाई ।

नुवाकोटकी सुनीता रोक्काले पनि ११ वर्ष भयो फुटपाथमा मकै अनि तरकारी बेच्न थालेको । मदिरा सेवन गरी श्रीमान्‌ले यातना दिन थालेपछि प्रत्येक दिन सय रुपैयाँ तिरेर गाडा (ठेला) भाडामा लिएर सुनीताले सिजनमा मकै र अरुबेला चिया बेच्छिन् । लकडाउनमा पनि लुकिछिपी बेच्दा खाना खर्च भने पुग्यो उनलाई । तर कोठाभाडा भने तीन महिनादेखि तिर्न सकेकी छैनन् । ‘लकडाउन खुकुलो भएपछि भने पहिलेकै जस्तो आम्दानी छ अहिले,’ उनले सुनाइन् । सामान्य अवस्था भएका बेला आफूसहित तीन छोराछोरीलाई खर्च त मज्जाले पुर्‍याउँछिन् । तर दैनिक सय रुपैयाँ तिरेर भाडामा लिएको गाडा नगर प्रहरीले फिर्ता नदिएपछि १५ हजार रुपैयाँ साहुलाई बुझाउँदा कम्ता पीर परेन उनलाई । नगर प्रहरीले फेरि गाडा लगिदिने पो हो कि भनेर आजभोलि उनी लुकीलुकी व्यापार बाध्य छिन् ।

उदयपुरको लिम्पाटार घर भएका गंगा थापाले काठमाडौंमा तरकारीको व्यापार गर्न थालेको २५ वर्ष नाघ्यो । बसुन्धराको सडककिनार उनको तरकारी व्यापारबाटै परिवारको गर्जो टरेको छ । ‘फुटपाथमा तरकारी बेचेर भातको मेलो गरेको छु, छोराछोरी पढ्दै छन्, सामान्य औषधिमूलो गर्न पनि पुगेकै छ,’ उनी भन्छन्, ‘फुटपाथमा तरकारी बेच्न बिहान ३ बजेदेखि खटिनुपर्छ । महानगरपालिका तथा सरकारसँगै केही आशा छैन । चोरजस्तो सधैं डराइडराई तरकारी बेचेर परिवार पाल्नुपर्ने बाध्यता छ ।’

अरू व्यापारीजस्तै महेश साह पनि महाराजगन्ज चक्रपथको सडककिनारमा ग्राहकको पर्खाइ छन् । उनी फलफूल र तरकारी बेच्छन् । चार छोराछोरीको लालनपालन, पढाइसँगै अन्य खर्च यसै व्यवसायबाट उनले जुटाइरहेका छन् । तर लकडाउनका होस् वा अरू बेला सधैं नगर प्रहरीको मात्रै डर हुन्छ उनलाई । उनी भन्छन्, ‘डरडरमै जीवन बित्ने भयो । लुकीलुकी फुटपाथमा सामान बेचेर गुजारा गर्ने गरिबको व्यथा कसैले बुझ्नै सकेन ।’

५२ वर्षीय जुरी साहले काठमाडौंमा चटपटे बेच्न थालेको ३५ वर्ष पुग्यो । १५ हजार रुपैयाँ कोठाभाडा तिरेर तीन छोराछोरीसहित पाँचजनाको परिवारको दैनिकी चलाइरहेका छन् उनले । अहिले उनका छोराछोरी कलेजमा पढिरहेका छन् । ‘फुटपाथमा चटपटे बेचेर घरजग्गा त किन्न सकिएन,’ उनी भन्छन्, ‘तर दैनिक खर्चचाहिँ मज्जाले धानिरहेको छु ।’ महानगरपालिकाले फुटपाथ व्यवसायीलाई गरी खान नदिएको उनीहरुको गुनासो छ ।

प्राय: गरिब परिवारका, घर व्यवहार बिग्रिएका साथै मध्यम वर्गका मानिसहरूले फुटपाथमा व्यापार गरिरहेका छन् । शिक्षा र पुँजी अभावले अधिकांश फुटपाथ व्यवसायी ठूलो व्यवसाय र जागिरको कल्पनै गर्न सक्दैनन् । सानो पुँजी जसोतसो जुटाएर व्यवसाय गर्ने सबैको गुनासो महानगर प्रहरीसँगै छ ।

स्थायी घर सर्लाही भएकी बबिता माझीको खर्चबर्च तरकारी व्यापारबाटै मज्जैले जुट्छ । लकडाउनमा भने अरू व्यापारीजस्तै उनले पनि कोठाभाडा तिर्नै नसक्ने गरी सकस भोग्नुपर्‍यो । चारजनाको परिवारको गुजारा हुँदै आएको व्यापार गर्दा जहिल्यै पनि प्रहरीले लखेट्दा वाक्कदिक्क भएको उनी बताउँछिन् । महिला हुन् वा पुरुष फुटपाथमा व्यापार गर्ने सबैको दुखेसो बबितासँगै मेल खान्छ ।

धेरै वर्ष भारतका विभिन्न ठाउँमा श्रम गरेका शेरबहादुर बुढाथोकीले अहिले भारत र विदेश जाने सोच बदलेका छन् । ‘गरे ने हुन्न र ?’ उनी सुनाउँछन्, ‘विदेश बिर्सिएर अहिले सिजनअनुसार फलफूल फुटपाथमै बेचेर घरखर्च चलाइरहेको छु । उनले आमा, श्रीमती र दुई छोराछोरीसहितको परिवारको दैनिकी यही फुटपाथको व्यवसायले चलाइरहेका छन् ।

यस्तै कामको खोजीमा लाखौं रुपैयाँ तिरेर धेरै महिलाहरु पनि विदेशिने क्रम बढ्दो छ । तर फुटपाथमा व्यापार गर्ने मैया भण्डारी भने उदाहरणीय बनेकी छन् । यही फुटपाथ व्यवसायबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको उनी बताउँछिन् ।

लकडाउनमा खस्किएको व्यापार लकडाउन खुकुलो भएसँगै सन्तोषजनक हुँदै गएको फुटपाथ व्यवसायीहरु बताउँछन् । काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा भिड बढेर फुटपाथमा हिँडडुल गर्न गाह्रो भएको भन्दै फुटपाथ व्यवस्थापनमा कडाइ गरिरहेको छ । फुटपाथमा व्यापार गर्ने नियम संसारमै नभएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् । उनले पछिल्लो समयमा फुटपाथमा अवरोध हुनेगरी व्यापार गर्नेको सामान फिर्ता नगर्ने गरी जफत गर्ने गरिएको प्रस्ट्याए ।

तर महानगरको फुटपाथ व्यवस्थापनले सानो व्यापार गर्नेलाई भने साँच्चै सकस परेको छ । नगर प्रहरीले एक वर्षअगाडिसम्म फुटपाथ व्यापारीबाट सामानहरु थुतेर लगेपछि दुई हजार रुपैयाँ जरिवाना लिएर फिर्ता गर्ने गरेको थियो । तर अहिले भने जे सामान लगे पनि फिर्ता नगर्ने गरेको फुटपाथ व्यवसायीहरु बताउँछन् । यता प्रवक्ता डंगोल भने जरिवाना तिराएर सामान फिर्ता दिँदा फुटपाथमा व्यापार गर्दा हुन्छ भन्ने सन्देश गएकाले सामान जफत गर्ने नीति बनाइएको बताउँछन् । सामान खोसेर जफत गर्दा सर्वसाधारणको गाँस खोसिएको भन्ने जिज्ञासामा प्रवक्ता डंगोलले नेपालखोजसँग भने, ‘फुटपाथ भनेको मान्छेको हिँड्ने ठाउँ हो, व्यापार गर्ने थलो होइन । फुटपाथमा व्यापार गर्दा मानिस सडकमा हिँड्छन् अनि दुर्घटनाको जोखिम हुन्छ । त्यसैले बाध्यतावश कडाइ गर्नुपर्ने अवस्था आएको हो ।’

काठमाडौंमा सयौं फुटपाथ व्यवसायी भएकाले सीमित, गरिब तथा अशक्तलाई भने छुट दिइनुपर्छ भन्ने कुरा व्यवहारिक नभएको महानगरपालिकाको ठम्याइ छ । मान्छे ओहोरदोहोरको संख्या हेरेर शुक्रबार र शनिबार साँझका बेला फुटपाथ व्यवसायीलाई व्यापार गर्न दिनेबारे महानगरपालिकाले सोच भने बनाएको प्रवक्ता डंगोल बताउँछन् ।

तर कुन ठाउँमा व्यापार गर्न दिन सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया