बिहीबार, वैशाख ११, २०८२

अस्पतालको शय्यामा छटपटाउँदै पल्पसा

मीना साउँद २०७८ साउन ११ गते ७:५१

कलाकार सुरेन्द्र केसीका अनुसार पछिल्लो समय पल्पसाको व्यवहारमै परिवर्तन भएको थियो । उनी बढी रिसाउने, दुब्लाउँदै अनि काली हुँदै गएकी थिइन् ।


काठमाडौं । हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) यतिबेला दुवै मिर्गौला फेल भएर अस्पतालमा उपचाररत् छिन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको नेफ्रो वार्डमा उपचाररत पल्पसा बेलाबेला पीडाले छटपटाइरहेकी हुन्छिन् । हँसिलो अनुहार, मिलेको जिउडाल भएकी पल्पसा एक महिनामै चिन्न नसकिने भएकी छिन् । दर्शकलाई पर्दामार्फत हँसाइरहने पल्पसाको मुहार मलिन, आँखा अनिँदो अनि पीडाले छटपटि रहेको देखिन्छ ।

आफ्नो अभिनयमार्फत करोडौं दर्शक अनि स्रोताको मनमा बस्न सफल पल्पसालाई यो पीडामा देखेर उनलाई भेट्न शुभेच्छुकको घुइँचो लाग्ने गरेको छ । अझ उनको स्वास्थ्यलाभको कामना गर्दै देशविदेशबाटै शुभेच्छुकले सान्त्वना दिइरहेका छन् । उनलाई आवश्यक पर्ने हर सहयोग गर्न तयार देखिन्छन् । हास्य टेलिफिल्म मेरी बास्सैबाट चर्चामा आएकी पल्पसा डंगोल (चम्सुरी) मेरी बास्सैमा कुञ्जना घिमिरेको आमाको भूमिका निर्वाह गरेकी छिन् ।

उनै पल्पसा डंगोलसँगै श्रीमानको भूमिकामा रहेका अर्को हास्य कलाकार सुरेन्द्र केसी (मुलासाग) विगत १४ वर्षदेखि सँगसँग काम गर्दै आएका छन् । तर, यतिका वर्षसम्म सँगै काम गर्ने सहकर्मीलाई यस्तो समस्या थियो भन्ने कुरा अहिले एकाएक थाहा पाउँदा उनी भावुक हुन्छन् । कलाकार सुरेन्द्र केसीका अनुसार पछिल्लो समय पल्पसाको व्यवहार परिवर्तन भएको थियो । उनी बढी रिसाउने, दुब्लाउँदै अनि काली हुँदै गएकी थिइन् ।

सुरेन्द्र केसी (मुलासाग) ले भावुक हुँदै भने, ‘म उनीसँग विगत १४ वर्षदेखि सँगै काम गर्दै आएको छु । एकदमै हृष्ठपुष्ठ, एकदमै राम्री मान्छे । तर, पछिल्लो समयमा दुब्लो, काली अनि धेरै रिसाउने हुन थाल्यो । सुटिङमा पनि सबैलाई गाली गर्ने, हप्काउने गर्न थालिन् ।’ सहकर्मीका नाताले म भन्थें– कति रिसाइराखेको, कति गाली गरिराखेको मान्छेहरूलाई । स–सानो कुरामा पनि एकदमै रिसाउँथ्यो । त्यस्तो हर्कत देखाउन थालेपछि के भयो, किन यस्तो हर्कत देखाइराखेकी छौं ? भनेर मैले रिसाउने गरेको थिएँ । अनि किन यसरी दुब्लाएको भन्दा सुगर देखियो मलाई भनेर खाना असाध्यै बार्थिन् ।

आफूलाई मिर्गौलाको समस्या छ भन्ने कुराको पत्तो पल्पसाले पाँच वर्षअघि नै पाएकी थिइन् । तर, उनले यो समस्याबारे न परिवारका कोही सदस्यलाई न त सँगै काम गर्ने सहकर्मीलाई सुइँको समेत दिइनन् । बस् उनी एक्लै यो रोगसँग पाँच वर्षदेखि लडिरहिन् । उनलाई लाग्थ्यो कसैलाई थाहा नदिएरै म यो रोगबाट निको हुन्छु । आफूलाई सुगरको समस्या रहेको भन्दै खानेकुरा एकदमै बार्ने गर्थिन् । सुटिङमा चिल्लो पिरो खाँदैन थिइन् । अझ उनि सुटिङमा पनि आफैं साग बनाएर खाने गर्थिन् । सुरेन्द्र केसी (मुलासाग) ले भने, ‘खाना एकदमै बार्थिन् । गोलभेडा, चिल्लो अनि पिरो केही पनि खान्थिन् । चिल्लो पिरो केही त्यस्तो छ भने आफैं बनाएर खान्थिन् । कुरो त यसो पो रहेछ भन्ने अहिले आएर थाहा भयो ।’

विगत १४ वर्षदेखि सँगै काम गर्ने सुरेन्द्र केसीले उनी बिरामी भएको कुरा अरूबाटै थाहा पाए । उनले भने, ‘मलाई एउटा फोन आयो । म गाईजात्राको सुटिङ गरिराखेको थिएँ । मलाई नचिनेको मान्छेले फोन गरेर पल्पसा बिरामी भएको हो भनेर सोध्यो । अनि मैले होइन होला बिरामी भए त मलाई थाहा भइहालथ्यो नि भनेर भनें र फोन काटेर पल्पसालाई फोन गरें । उहाँको त्यो एउटा नम्बरमा उठेन । नउठेपछि मसँगै साथी शिवशंकर हुनुहुन्थ्यो उहाँलाई अर्को नम्बरमा फोन गर्न लगाएँ । त्यसमा गर्दा त ऊ हस्पिटलमा रहेछ, ‘म बर्वाद भएँ’ भनेर रुन थाल्यो । अनि बल्ल त्यतिखेर थाहा भयो मलाई ।’

मिर्गौला प्रत्यारोपण गर्न परिवार र बाहिरबाटै तयार, कानुनी प्रक्रिया थालिँदै

चिकित्सकका अनुसार पल्पसाको मिर्गौला प्रत्यारोपण गर्नुपर्नेछ । उनलाई मिर्गौला दिनका लागि परिवारबाटै र बाहिरबाट पनि धेरै तयार भइसकेका छन् । तर, आफन्त वा हाडनाताबाट मात्र दिन मिल्ने भएकाले यतिबेला कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको कलाकार सुरेन्द्र्र केसीले बताए । उनले भने, ‘मिर्गौला प्रत्यारोपण गर्न धेरै नै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुँदो रहेछ । त्यसैले अहिले त्यो प्रक्रिया पूरा गर्ने काम भइरहेको छ ।’ पल्पसालाई यतिबेला कलाकारदेखि उनका धेरै शुभेच्छुक सहयोग गर्न तयार छन् । तर पल्पसाले आफूलाई यतिबेला पैसाको खाँचो नभएको बताउँछिन् । ‘यूकेबाट एउटा समाजसेवी बहिनीको मलाई एउटा फोन आएको थियो । पल्पसाका लागि हामी सहयोग गर्न तयार छौं भन्नुभएको थियो तर मैले सोधेर भन्छु भनेर म हस्पिटल गएँ,’ सुरेन्द्रले भने, ‘मैले सोधे यस्तो यस्तो कुरा आइरहेको छ के गरौं भनेर । उनले मलाई अहिले पैसाको खाँचो होइन, मिर्गौलाको खाँचो हो भनेर भन्नुभयो ।’ कलाकार सुरेन्द्र केसीका अनुसार पल्पसा डंगोललाई आवश्यक परेको जुनसुकै सहयोग गर्न कलाकारहरु यतिबेला एकजुट भएर बसेका छन् । उनले भने, ‘कलाकारहरू हामी सबै सहयोग गर्ने भनेर स्ट्यान्डबाई बसिरहेका छौं । त्यस्तो केही परिहाल्यो भने हामी कलाकारहरू त जितिहाल्छौं नि सब कलाकारहरू एकजुट भएर बसिरहेका छन् । त्यसमा त केही समस्या छैन ।’

कलाकार र शुभेच्छुकहरू उनलाई आवश्यक पर्ने हर–सहयोग गर्न तयार देखिन्छन् । कानुनी प्रक्रियाहरू पूरा भएपछि मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । हास्य टेलिशृंखला मेरी बास्सैको सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसा डंगोलका दुई छोरी छन् । पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीसँग बस्दै आएकी छन् । कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीको पालनपोषण र शिक्षा–दीक्षाको जिम्मेवारी वहन गर्दै आएकी छिन् । हाम्रा तर्फबाट पनि कलाकार पल्पसा डंगोल (चम्सुरी) लाई शीघ्र स्वास्थ्यलाभको कामना ।

प्रतिक्रिया