बुधबार, वैशाख १०, २०८२

दार्चुला घटनाको सर्वत्र निन्दा, कसले के भने ?

नेपालखोज २०७८ साउन १६ गते १४:०२

काठमाडौं । दार्चुला जिल्लाको व्यास गाउँपालिकामा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा जवानले तुइन काटिदिएको अमानवीय घटनाले तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ । यो विषयमा सामाजिक सन्जालमा देखिएका केही टिप्पणी यस्ता :

भीम रावल
दार्चुला जिल्लाको व्यास गाउँपालिकाका ३५ वर्षीय जयसिंह धामी महाकाली नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काट्दा नदीमा खसेर बगेको समाचार स्तब्धकारी छ । यस्तो क्रूर अमानवीय कार्यको छानबिन होस् । भारतसँग वार्ता गरी दोषीलाई कारबाही गरियोस् र मृतकका परिवारलाई राहत प्रदान गरियोस् ।

कोमल वली
तुइन क्रस गर्न एक मिटर बाँकी हुँदा भारतीय एसएसबीका जवानहरुले तुइन काटिदिएर महाकाली नदीमा जयसिंह धामीले ज्यान गुमाउनुपर्ने घटना मानव इतिहासमा कुन रुपमा हेरिन्छ ? योभन्दा शब्दले समेट्न नसक्ने घटना के हुन सक्छ ? यस्तो मर्माहत घटना दोहोरिन नदिनका लागि सरकारले वार्ता गरोस् र समाधान गरोस् !

रवि मिश्र
तुइन तरिहेको बेला लठ्ठा काट्ने हदको आतंकी कायरता कसरी आउँछ मान्छेकै रुपमा जन्मेकालाई ? कुनै देशको बर्दी र बन्दुक भिर्दैमा ।

धनराज गुरुङ
दार्चुलामा नेपाली युवा जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय एसएसबीले तुइन काटिदिएकाले जयसिंह महाकालीमा हराएको खबर ! भारतीय एसएसबीको यो कार्य घोर आपत्तिजनक । @PM_nepal_ ज्यू ! यस विषयमा भारतीयसँग वार्ता गरेर दोषीमाथि कडा कारबाही गरियोस् । पीडित परिवारलाई राहत दिइयोस् ।

प्रेतात्मा
भारतीय सेनाले तुइन काटेर नेपाली नागरिकले ज्यान गुमाउदा सरकारको प्रधानमन्त्रीको जागिरे श्री शेरबहादुर @SherBDeuba बोल्न पर्छ कि पर्दैन ? नागरिक समाज भन्ने पश्चिमाका खेतालाहरु बोल्लान् भन्ने त आशा नै छैन ।

दीपेन्द्र विष्ट
पहिला त सरकारले महाकाली नदीका जोखिमयुक्त तुइन चाँडै हटाउनुपर्छ दोस्रो नेपालीहरूले पनि त्यस्ता तुइनबाट भारत जान छोडी आधिकारिक नाकाबाट आवातजावत गर्ने बानी थाल्नुपर्छ । नत्र पारितिर जतिसुकै धारे हात पारे पनि यस्ता अपराध भइरहन्छ, भइरहन्छ । सरकारले राजदूतलाई स्पष्टीकरण सोध्नुपर्छ ।

दीपेश शाही
तुइन प्रकरणले देखाएका दुई चित्र :
१. मुलुक तुइनमुक्त भएको छैन ।
२. जहिल्यै कथित राष्ट्रवादको पीडा राष्ट्रवादीले होइन राष्ट्र (नागरिक) ले भोग्नुपर्छ।

खगोल गौतम
हैट ! तुइन विस्थापित गरिसकें भनेर छाति पिट्ने उखाने कुन दुलोमा छ । जनता तुइनबाट आऊजाऊ गर्दा-गर्दै नदीमा खसालेर बेपत्ता गराउँदा पनि सरकारले किन सत्यतथ्य कुरो बाहिर ल्याउन सक्दैन ? २ दिन भइसक्यो प्रारम्भिक अनुसन्धान त भइसक्नुपर्ने होइन र ?

सुनील पौडेल
एसएसबीले काटेको भनेको तुइनको ठाउँमा पुल बनाउन दुई वर्षअघि नै ठेक्का पाएको कम्पनीका मालिक नेकपा एमाले संसद गोल्बुसिंह बोहोरा हुन् । उनलाई यो घटनामा जिम्मेवार ठान्ने कि नठान्ने ?

सरिता भट्ट ‘शरु’
दार्चुलामा एसएसबीले गरेको अमानवीय व्यवहारले एउटा नेपालीले ज्यान गुमाउन परेको घटनाको सम्पूर्ण नेपाली जनता भारतीय अमानवीय कुकृत्यको भर्त्सना गर्दछ, नि:शस्त्र मानिस मानवीय सहायताकै आशमा एक ठाउँबाट अर्को ठाउमा जाने क्रममा गरिएको यस्तो कुकृत्यको जति नै भर्त्सना गरे पनि कमी हुन्छ ।

प्रतिक्रिया