बुधबार, वैशाख १०, २०८२

मेलम्ची बाढी अपडेट : १७ घर टहरा बगायो

नेपालखोज २०७८ साउन १७ गते ११:२९
फाइल तस्बिर

सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । तीमध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खालि थिए । बाढीले चनौटेको रातो पुल बगाएको छ ।

स्थानीयवासी हस्त पण्डितले दिएका जानकारी अनुसार बाढीले आज बिहान पुल बगाएको हो । मेलम्ची-७ र ८, पाँचपोखरी-१ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारी आवतजावत बन्द छ ।

त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।

मेलम्ची बजारदेखि माथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए । खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताए ।

हेलम्बु राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा मेलम्चीबाट हेलम्बु सवारीसाधन जान नसकेको मेलम्ची नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

प्रतिक्रिया