झापाका अस्पताल काेराेना संक्रमितले भरिए

झापा । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन् ।
मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना संक्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टंक बाराकोटीले बताए ।
अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शय्या भरिएका छन् । अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ ।
पाँचवटा आईसीयू कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकामा सबै शय्या भरिएको उनले जानकारी दिए । झापामा सबैभन्दा बढी सय शय्या कोभिड संक्रमितको उपचारका लागि छुट्याएको विर्तामोडको बीएन्डसी अस्पतालमा ७४ जना बिरामीको उपचार भइरहेको छ ।
अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार कोभिडका लागि अस्पतालले ३२ शय्याको आईसीयू व्यवस्था गरेकामा सबै शय्या बिरामीले भरिएका छन् ।
अस्पतालमा दैनिक २ सय सिलिन्डर अक्सिजन खपत भइरहेको जनाउँदै उनले ५० सिलिन्डर अक्सिजन अस्पताल आफैँले दैनिक उत्पादन गरिरहेको बताए ।
पछिल्लो समय बालबालिकामा कोभिडको संक्रमण जोखिम बढेको विज्ञहरुले बताएका कारण अस्पतालले २५ शय्याको एनआईसीयू र १५ शय्याको पीआईसीयू बच्चाहरुको कोभिड उपचारका लागि व्यवस्था गरिएको गिरीले जानकारी दिए ।
विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा कोभिडका लागि छुट्याइएको सबै आइसोलेसन वार्ड, आईसीयू र भेन्टिलेटर भरिएको छ ।
अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले कोभिड उपचारका लागि ५३ शय्याको आइसोलेसन, नौ शय्याको भेन्टिेलेटर र १२ शय्याको आईसीयू व्यवस्था गरिएको बताए ।
एक सातायता कोभिडका संक्रमित उपचारका लागि आउने क्रम बढेर अस्पताल नै भरिएको उनले बताए । अस्पतालले संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर ओपीडी सेवा हाल बन्द गरेको जनाएको छ । यस्तै चाप रहे प्रसूति सेवा पनि बन्द गर्ने अवस्था आउनसक्ने उनले बताए ।
एक साता अघिसम्म २४ घण्टामा १ सय अक्सिजन सिलिन्डरले पुग्ने गरेकामा हाल दैनिक १ सय सिलिन्डर खपत भइरहेको बस्नेतले जानकारी दिए ।
दमकको बेलडाँगी कोभिड अस्पताल पनि संक्रमितले भरिभराउ छ । दमक नगरपालिकाले सञ्चालन गरेको सो अस्पतालमा ३० शय्या छन् । सबै शय्या भरिभराउ रहेको स्रोत व्यक्ति देवी दङ्गालले बताए । चिकित्सकहरुका अनुसार अचेल सिकिस्त भएपछि मात्र संक्रमितहरु अस्पताल आउन थालेका छन् । रासस
प्रतिक्रिया