दमक र मोरङका ३ हजार शरणार्थीलाई कोरोनाविरुद्धको खोप

झापा । झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो ।
नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंङीय उच्चायोग (यूएनएचसीआर)को समन्वय तथा त्यहाँका शरणार्थी व्यवस्थापन समितिको व्यवस्थापनमा एकैसाथ खोप लगाइएको शनिश्चरेस्थित शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले जानकारी दिए ।
उनका अनुसार पथरी शिविरमा कूल एक हजार ५ सय भुटानी शरणार्थीमध्ये ८५६ र दमकको बेलडाँगीस्थित शिविरका दुई हजार ३०७ शरणार्थीलाई खोप लगाइएको हो । खोपकार्यको अनुगमनमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, दातृ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
चार महिनाअघि निकालिएको तथ्याङ्कअनुसार झापा र मोरङमा कूल छ हजार ५ सय भुटानी शरणार्थी बसोबास गरिरहेका बेलडाँगी शिविर व्यवस्थान समितिका सहसचिव टिबी राईले बताए ।
महामारी नियन्त्रणमा रु ४१ लाख सहयोग जुट्यो
दमक उद्योग वाणिज्य संघले सञ्चालन गरेको कोरोना महामारी नियन्त्रण अभियानअन्तर्गत करीब ४१ लाख ७५ हजार रूपैयाँ सहयोग जुटाएको छ ।
संघको अगुवाइमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले अत्याधुनिक भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य उपकरण खरीदका लागि सो सहयोग जुटाइएको अध्यक्ष गोकुल श्रेष्ठले बताए ।
संघले आज पत्रकार सम्मेलन गरी निजी क्षेत्रका संघ-संस्था र व्यक्तिको सहकार्यमा सहयोग जुटाएर विभिन्न स्वास्थ्य उपकरण खरीद गरी ल्याइसकिएको उनले बताए ।
सहयोग जुटाउन संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरिएको थियो । अभियानका संयोजक प्रसाइँले दमकमा कोरोनाको महामारी नियन्त्रणका लागि निजी क्षेत्रका तर्फबाट सहयोग पुगोस् भनेर विभिन्न व्यक्ति तथा संस्था, लायन्स क्लबसँगको सहकार्यमा सहयोग प्राप्त भएको थियो ।
प्रतिक्रिया