सोमबार, वैशाख ८, २०८२

देशको चिन्तन गरौं

केशवप्रसाद गौतम २०७८ साउन २२ गते ७:१०

विश्वमा भइरहेको नयाँ-नयाँ आविष्कार र प्रविधिको विकासले आज संसारमा चामत्कारिक विकास भइरहेको छ । हाम्रा हिजोका कतिपय मान्यता आज पुराना भइसकेको अवस्था छ । अब नेपाली जनताले पनि विश्व सँगसँगै कदम चाल्ने हो भने २१औं शताब्दीका चुनौतीहरूलाई सम्बोधन गर्नसक्ने गरी हामीले नेपालका राजनीतिक दलहरूलाई ‘अपडेट’ गर्नुपर्छ । त्यसो गर्न पार्टीका पुराना नेताहरूलाई अभिभावकीय भूमिकामा राखी इमानदार, सक्षम युवानेताहरूलाई देश सञ्चालन गर्ने जिम्मेवारी दिनुपर्नेछ । यसो गरेमा देशले काँचुली फेर्ने सम्भवना हुनेछ ।

जहाँसम्म देश विकासको कुरा छ । पुराना सोच र पद्धतिले देश विकास हुन सकेन । पञ्चायत होस्, प्रजातन्त्र होस् वा गणतन्त्र, हाम्रा नेताहरूका सोच र पद्धति एउटै रह्यो । विकासको मोडल एउटै रह्यो । राजनीतिक व्यवस्था बदलियो तर सामाजिक व्यवस्था बदलिएन । किनभने हाम्रा देशका नेताहरूले आफ्ना सिद्धान्तअनुसारको काम गरेनन् । समाजवादी आदर्श र निष्ठाको राजनीति गर्नुको सट्टा नेताहरूले राजनीतिलाई पेसाका रूपमा लिए ।

त्यसमाथि आत्मकेन्द्रित चिन्तन र सत्ता मोहका कारण राजनीति गर्ने नेताहरू त सम्पन्न हुनुभयो तर नेपाली जनताको आर्थिक अवस्थामा कुनै परिवर्तन भएन । जुन व्यवस्था आए पनि देशको राजनीतिमा सामन्त र निम्नपुँजीपतिहरूकै बर्चस्व रह्यो । जसले गर्दा राजनीतिमा इमानदारिताको खडेरी पर्‍यो र भ्रष्ट आचरण बढेर गयो । यही नै आजको यथार्थ हो । यस कुरालाई सबै नेपाली बुद्धिजीवी र आमजनताले समेत मनन् गर्नुपर्छ ।

उपरोक्त कुराले गर्दा २०४६ सालमा बहुदलीय व्यवस्था आएदेखि ३२ वर्षमा देश विकसित हुनको सट्टा झन्-झन् ओरालो लागेको अवस्था छ । देशको विकास नेताहरूका भाषणमा मात्र भएको छ । यथार्थमा हामी झन्-झन् पछि पर्दै छौं । २००७ सालसम्म हामीभन्दा पछाडि रहेका दक्षिणपूर्वी एसियाका देशहरूले विकास गरेर विकसित देशको दाँजोमा पुगिसक्दा पनि हामीले विकास गर्न सकेका छैनौं । धान निर्यात गर्ने हाम्रो कृषिप्रधान देशले आज धान आयात गर्न थालेका छौं । देशमा रहेका उद्योगधन्दाहरू मासेर रोजगारीका लागि विदेश जान थालेका छौं ।

शिक्षा र स्वास्थ्यको के कुरा गर्नु, ग्रामीण जनताले आधारभूत आवश्यकता पूरा गर्न सकिरहेका छैनन् । देशको व्यापार घाटा बढेको बढ्यै छ । राष्ट्रिय ऋणको रकम बढेको बढ्यै छ । देशमा उद्योगधन्दा कल-कारखानाको विकास नभएर नेपाली युवाले रोजगारीका लागि विदेश जाने क्रम बढेको बढ्यै छ । यस्तै अवस्था रहे नेपाल असफल राष्ट्र हुने कुरा निश्चित छ ।

समग्रमा भन्ने हो भने बहुदल आएपछिको यो ३२ वर्षमा देश विकास गर्ने जिम्मेवारी लिएका अहिलेका नेताहरूले जिम्मेवारी पूरा गर्न सक्नुभएन । वर्तमान राजनीतिक नेतृत्व देश विकास गर्न असफल भएको कुरा नेपालको इतिहासले नै साबित गरिसकेको छ ।

तसर्थ यस्तो दुखद अवस्थाबाट मुक्ति पाउन, देशको औद्योगिक विकास गरी नेपाली युवाहरूलाई देशमै काम गर्ने वातावरण तयार गर्ने हो भने, साँच्चै समृद्ध नेपाल सुखी नेपाली हुने हो भने पढेलेखेका इमानदार विज्ञहरूको हातमा देशको बागडोर सुम्पिनुपर्छ ।

त्यसका लागि अब ग्राजुएट, पोस्टग्राजुएट गरेकालाई मात्र सांसद हुन पाउने र मन्त्री हुन विषयविज्ञ हुनुपर्ने प्रावधान संविधानमा राख्नुपर्छ ! विचार गरौं, एउटा कार्यालय सञ्चालन गर्ने अधिकृत ग्राजुएट हुनुपर्छ भने देश सञ्चालन गर्ने नेता कमसेकम ग्राजुएट हुनैपर्छ कि पर्दैन ?

अबको दुनियाँमा विषयविज्ञ नभई देश सही ढंगबाट सञ्चालन गर्न सकिँदैन । यो सत्यलाई सबैले स्वीकार गर्नुपर्छ । पञ्चायती व्यवस्थाले सबै नेपाली पञ्च भने झैं उद्योगी, व्यापारी, शिक्षक, कृषक, सबै नेपाली नेता हुने होइन सबैले आफ्नो आफ्नो पेसाको विकास गरी राष्ट्रिय उत्पादनमा वृद्धि गरी देश विकासतर्फ लाग्नुपर्छ । देश विकास गर्ने मन्त्रीहरू विषयविज्ञ नै हुनुपर्छ । पुराना नेताहरूले अब अभिभावकका रूपमा रहनुपर्छ ।

यो कुरा म चीनको अनुभवको आधारमा गरिरहेको छु । चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न गर्न सफल हुनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओबाट चीनको विकास हुन सकेन । उहाँले ‘ग्रेट लिप फरवार्ड’ जस्ता केही चमत्कारिक कार्यक्रमहरू पनि चलाउनुभयो तर पनि उहाँको प्रयासबाट चीन विकसित नभएपछि चीनको विकास गर्न फ्रान्स र मास्कोमा पढेर आउनुभएका प्रतिभाशाली विद्वान नेता डेंगसाओपिंलाई नेतृत्वमा ल्याएपछि चीनको चामत्कारिक विकास भयो । अहिले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र दोस्रो शक्तिशाली देश भएको छ । त्यसैले अब नेपालमा पनि ९ कक्षा पास, १० कक्षा पास गरेका नेता र मन्त्री होइन विषयविज्ञ मन्त्री चाहिन्छ । यो कुरा सबै नेपाली जनताले गम्भीरतापूर्वक विचार गरौं !

प्रतिक्रिया