बालबालिकालाई शिक्षण सिकाइ पद्धतिमा कसरी जोड्ने ?

हामी विगत डेढ वर्षदेखि कोभिड-१९ संक्रमणको चपेटामा परेका छौं । संक्रमणले हरेक क्षेत्र प्रभावित भएको छ तर, सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । विद्यार्थीमा पनि साना उमेरका बालबालिका बाढी प्रभावित भएका छन् । किनभने, साना केटाकेटीले खेल्न खोज्छ, पढ्न पनि खोज्छ अनि शिक्षकको गाइडेन्स पनि खोज्छ । यो तीनवटै कुरा नभएपछि उनीहरूलाई असर पर्नु पनि स्वभाविक हो । यो अवस्थामा पनि हामीले तीनवटा काम गर्न सके ती स-साना बालबालिकालाई शिक्षण सिकाइ पद्धतिमा सहजै जोड्न सक्छौं ।
बच्चा घरैमा बसेर पनि सिक्छ । सिकेको कुरालाई पढाइसँग जोड्न जान्नुपर्छ त्यो भनेको शिक्षकको काम हो । जस्तो- घरमा बान्टिन देख्यो भने यो के होला ? भनेर सोध्छन् बच्चाले । त्यो प्लास्टिकको बाल्टिन हो भने के गरी बन्यो ? स्टिलको बाल्टिन हो भने यो के गरी बन्यो होला ? त्यो किसिमको प्रश्नको उत्तर बालबालिकाले खोज्छ । त्यसको उत्तर सके बुबाआमाले दिनुपर्यो । नभए बुबाआमाले शिक्षकसमक्ष प्रश्न राखिदिनुपर्यो । र, त्यो प्रश्नको उत्तर शिक्षकले खोज्नुपर्यो । शिक्षकले पनि त्यो खोज्न सकेन भने अन्य कुनै जान्ने मान्छेलाई सोध्नुपर्यो । एउटा त्यो काम हो जसले सिकाइलाई पढाइमा जोड्न सक्छ । दोस्रो भनेको किताब मात्रै पढाउने बानी लागेका शिक्षकलाई अब तपाईंको जागिर छैन भन्नुपर्यो । किनभने, त्यो पढाइ सुरुसुरु होइन, अब पढाइलाई सिकाइसँग कसरी मिलाउने भन्ने किसिमको कुरोकानी जान्नुपर्यो ।
अब विद्यार्थीले सोधेको प्रश्नसँग पाठलाई कसरी लिने भन्ने किसिमको कुरोकानी जान्नुपर्छ । यो भनेको पढाइलाई सिकाइसँग जोड्ने कुरा भयो । यो दुवै कुरालाई लिएर पढाइबाट सिकाइमा जोडे पनि हुन्छ सिकाइबाट पढाइमा जोडे पनि हुन्छ । सिकाइबाट पढाइमा जोड्ने भनेको विद्यार्थीको चासोसँग पढाइ जोड्ने भनेको अनि पढाइलाई सिकाइसँग जोड्ने भनेको किताबमा भएको कुराकानी व्यवहारमा जोड्ने भनेको हो । यो तरिका अपनाउन सक्यौं भने बच्चाहरूलाई सजिलैसँगै पढाउन सकिन्छ । यो एउटा बाटो भयो ।
अर्को बाटो भनेको प्रविधि छैन । कसैकहाँ अनलाइन सुविधा होला, कसैकहाँ अफलाइन मात्रै होला, कसैकहाँ अनलाइन अफलाइन दुइटै नहोला । कसैकहाँ रेडियो होला, कसैकहाँ टेलिभिजन होला यो सबै फरक-फरक छ र फरक-फरक हुन्छ । त्यो जति नै समानताको गीत गाए पनि हुन्छ । चाइना जस्तो समानताको गफ लगाउने देशमा त छ भने हामी कहाँ नहुने त कुरै आएन । अमेरिकामै पनि प्रविधि हुने र प्रविधि नहुनेको बीचमा फरक खाडल छ । र, यतिसम्म छ कि प्रविधि प्रयोग गर्नै हुँदैन भन्ने मान्छेहरूको जमात पनि छ । त्यहाँबाट हामीले के जान्नुपर्छ भने केटाकेटी त फरक-फरक प्रविधिसँग हुने रहेछन् । यी फरक-फरक प्रविधिका मान्छेहरूको ज्ञानलाई एक समान बनाउने कसरी हो ? भन्ने किसिमको कुरामा चिन्तिन गर्नुपर्ने हुन्छ । त्यो भनेको कस्तो हो भने घरैबाट बालबालिकाले केही सिकेर आएका छन् भने त्यो सिक्ने बच्चालाई कसरी अगाडि लैजाने भन्ने कुरा जान्नुपर्यो । जस्तो- कुनै बच्चाले परम्परागत प्रविधिसँग केही कुरा सिक्यो । चाहे त्यो कुटो, कोदालो, जाँतो, ढिकी, नाम्लो, दाम्लो जेसुकैबाट पनि उसले सिक्यो । उसले त्यो सिकेको कुरा र कम्प्युटरबाट सिकेको कुरामा कहाँनिर मिल्छ वा कहाँनिर मिल्दैन भन्ने कुराको खोजी गर्नुपर्यो ।
उदाहरणका लागि केटाकेटीहरूले फूल लगाउनुपर्छ घरमा सुन्दर देखिन्छ भन्ने कुरा सिकेका छन् । गमला फूल लगाए । अर्कोथरी बच्चाले बारीमा फूल रोप्यो । अब बारीमा फूल रोप्ने र गमलामा फूल रोप्नु त फरक-फरक कुरा हो । त्यहाँ प्रविधि फरक-फरक होला, तरिका फरक–फरक होला । यो फरक हुन्छ भने केटाकेटीहरूलाई गमलामा फूल लगाउँदा कस्तो हुन्छ तिम्रो अनुभव लेख, बारीमा फूल लगाउँदा कस्तो अनुभव हुन्छ त्यो लेख । यी दुईवटामा के समान रहेछ के फरक रहेछ भन भन्ने खालको कुरा गरिदियो भने यो प्रविधिले ल्याएको खाडललाई जोड्न सकिन्छ । यो प्रक्रिया हामीले अपनाउन सक्यौं भने कोभिडको समस्याले केही पनि हुँदैन । तर, यो नगर्ने हो त्यो अनलाइन कक्षाको गीत मात्रै गाइरहने हो भने समस्या जस्ताको त्यस्तै रहने हो ।
(शिक्षाविद् विद्यानाथ कोइरालासँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया