महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने

कञ्चनपुर । महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा बालबालिकालाई लक्षित गरी ९० लाख रूपैयाँको लागतमा ५० शय्याको अस्पताल भवन निर्माण गर्न लागेको हो ।
भवन निर्माणका लागि निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौताको कार्य भइसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
उनका अनुसार बालबालिकालाई लक्षित गरी बनाइन लागेको अस्पताल असोज महिनाभित्रै निर्माणका सबै कार्य पूरा हुने समय सीमा निर्धारण गरिएको छ ।
कोभिडको सङ्क्रमणमा परेका बालबालिकाको निर्माण हुने अस्पतालमा उपचार हुनेछ । उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी, औषधि, आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था हुने बताइएको छ ।
बाल चिकित्सा अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले विशेष प्राथमिकतामा राखेको छ ।
बाल चिकित्सा कोभिड अस्पतालको आइतबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिलान्यास गरेका छन् ।
महाकाली अस्पतालमा यसअघि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ५० शय्याको आइसोलेसन भवन निर्माण गरेको थियो । अस्पतालमा बिरामीको चापको आधारमा १०० शय्या थप गरिएको छ ।
सरसफाइ शुल्कमा कटौती
भीमदत्त नगरपालिकाले सरसफाइ शुल्कमा ५५ प्रतिशतले कटौती गरेको छ । नगरवासीबाट लिँदै आएको सरसफाइबापतको शुल्क नगरपालिकाले चालु आवदेखि कटौती गरेको हो ।
नगरपालिकाले ब्रह्मदेव गड्डाचौकी क्षेत्रमा वार्षिक दुई हजार ६४० ९मासिक २२०० शुल्क लिँदै आएकामा चालु आर्थिकमा घटाएर एक हजार २ सय रूपैयाँ बनाएको छ ।
महेन्द्रनगर बजारको तीन किलोमिटरसम्म आवासीय क्षेत्रमा प्रतिघरबाट वार्षिक दुई हजार ६४० रूपैयाँ शुल्क लिइँदै आएको चालु आवमा घटाएर एक हजार ५ सय रूपैयाँ राखिएको छ । नगरपालिकाका प्रवक्ता हिमाल चन्दले सबैलाई सरसफाइमा समेट्न शुल्क घटाइएको बताए । रासस
प्रतिक्रिया