आइतबार, वैशाख ७, २०८२

विपक्षी गठबन्धनको सहमति- आलोपालो नेतृत्व

नेपालखोज २०७८ साउन २७ गते २०:४६

रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी गरेका हुन् । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने विपक्षी गठबन्धनबीच सहमति भएको छ ।

मुख्यमन्त्रीमा माओवादी केन्द्र र कांग्रेसले आलोपालो गर्ने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए। प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेलगत्तै नेता केसीको नेतृत्वमा नयाँ सरकार बनाउने गठबन्धनले तयारी गरेका छन् ।

जनता समाजवादीलाई सरकारमा सहभागी गराउने र राष्ट्रिय जनमोर्चा भने सरकारबाहिरै बसेर सहयोग गर्ने निर्णय भएको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए ।

आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादी केन्द्रका संसदीय दलका नेता केसीले नेतृत्व गर्ने र त्यसपछि कांग्रेस दल नेता कनोडियाले नेतृत्व गर्ने सहमति भएको छ । केसीको नेतृत्वमा बन्ने सरकारमा तत्काल प्रत्येक दलबाट एक-एकजना मन्त्री हुने र विश्वासको मत लिएपछि विस्तार गर्ने सहमति भएको नेता कनोडियाले बताए ।

प्रतिक्रिया