दोलखाको तेल दलिने झोलुंगे पुल !

एउटा भिन्न इतिहास बोकेको दोलखाको उत्तरमा रहेको यो झोलुंगे पुल संरक्षणको पर्खाइमा छ । यस पुलको आफ्नै इतिहास छ । यस पुललाई विशेष रुपले तेल दलिने पुलको रुपमा चिनिने गर्दछ । यस पुलको विशेषता अझै पनि कायमै छ । यस पुलबारेमा जानकारी रेडियो नेपालका दोलखा संवाददाता चिरञ्जीवी मास्केले केही महिनाअगाडि रेडियो नेपाल अनलाइनमा लेखेका थिए । यहाँ उहाँकै अनुमतिमा उहाँको लेखमा केही फेरबदलसहित प्रस्तुत गर्न गइरहेको छु । तस्बिरमा पनि मसँग रहेको ५३ वर्षअगाडिको तस्बिरभन्दा केही भिन्न देखिन्छ ।
वि.सं. २००३ सालमा दोलखा जिल्लाको उत्तरमा रहेको बुलुङ र खारेबीचको जामुनेमा तामाकोसी नदीमाथि झोलुंगे पुल बनाइएको थियो । खारे, मार्बु, बुलुङ, ओराङ, भाइचुङ, चांखु गाउँहरुका जनताहरुले तामाकोसीमा कुनै पुल नहुँदा आवतजावतमा दुख पाएको देखेर स्थानीय समाजसेवी प्रयागराज पण्डितले आफ्नो निजी खर्चमा झोलुंगे पुल बनाउने सोच बनाए । झोलुंगे पुल बनाउनु सहज थिएन । पुलका लागि आवश्यक फलामका मोटा-मोटा सिक्रीको आवश्यकता थियो । सिक्री भारतीय बजारबाट खरिद गरेर ल्याउनु त्यति सहज थिएन । तसर्थ काँचो फलाम रामेछापको ठोसे मेक्चनको फलाम खानीबाट ल्याइ जामुनेमा नै आरन बनाएर काँचो फलामबाट स्थानीय कामीहरुको सहयोगले ठूला-ठूला फलामा साङ्लो बनाइ पुल बनाइएको थियो । प्रयागराजले आफ्नै निजी खर्चमा ठोसेबाट काँचो फलामका धाउ खरिद गरेर त्यसलाई आरनमा गालेर त्यसलाई पिटेर साङ्लो बनाइएको थियो ।
लामा-लामा साङ्लो बनाइसकेपछि नदीको दुई किनारमा बलिया खाँबो गाडेर सिक्री बाँधेर त्यसको बीच-बीचमा लामो फलामे तारहरुले लामा-लामा मुढालाई अड्याएर पुल बनाइएको थियो । यसरी बनाइएका पुलहरु हेर्दा असुरक्षित भए पनि निकै बलिया हुन्थे । भरियाहरु ठूला-ठूला भारी बोकेर यस किसिमको पुलहरुमा ओहोरदोहोर गर्न सक्थे ।
यस प्रकारले आफ्नो निजी खर्चमा झोलुंगे पुल बनाइदिने समाजसेवी प्रयागराज पण्डितलाई केवल पुल बनाइदिएर सन्तुष्टि भएन । उनलाई यो पुल लामो अवधिसम्म गाउँलेहरुको लागि उपयोगीपूर्ण र टिकाऊ होस् भन्ने पनि चिन्ता लागि रह्यो । घामपानीले फलाममा खिया लागेर फलाम खिइन थाल्ने र झोलुंगे पुल कमजोर भइ भाँच्चिने सम्भावना हुने हुँदा उनले पुलमा प्रयोग हुने फलाममा खिया नलागोस् भनेर तेल हाल्ने व्यवस्था पनि गराएका थिए ।

नेपालमा रहेका हजारौ झोलुंगे पुलहरुमा दोलखाको जामुनेको झोलुंगे पुल एक मात्र उदाहरणीय पुल हो । प्रयागराजले पुलको मर्मत सम्भार तथा तेल दल्नका लागि आफ्नो निजी जग्गा गुठी प्रयोजनको लागि छोडेका थिए । गुठीको जग्गा कमाउनेले नै पुलको मर्मत सम्भार तथा पुलमा तेल दल्ने कार्य गर्नुपर्थ्यो । तर दुर्भाग्य गुठी कमाउनले पुलको मर्मत सम्भार तथा तेल दल्ने कार्य प्रयागराज जीवित हुँदासम्म मात्र गरे ।
२०२८ साल तिर प्रयागराजको निधन भयो । प्रयागराजको निधनपछि पुलको रखवाला तथा साधारण मर्मत गुठी कमाउने बलबहादुर खड्काले गरिरहेका छन् । तर तेल दल्ने काम भने २०२८ सालपछि नै बन्द भयो । २५ वर्षे उमेरमा बलबहादुर खड्कालाई प्रयागराजले नै पुलको जिम्मा दिन आफूले स्थापना गरेको गुठी जग्गामा ल्याएर राखेका थिए । सरकारको खासै नजर नपुगेको ऐतिहासिक पुलको साक्षी बनेर पुलको कुरुवाको रुपमा जीवित छन् । ७५ वर्ष उमेर पुगिसकेका बलबहादुर पुलको मर्मत सम्भार सरकारले गरिदिए हुने थियो भन्दछन् ।
२०४४ सालमा एकपटक मात्र सो बेलाको जिल्ला पञ्चायतले पुलको मर्मत गरिदिएको भए पनि त्यस यता पुलको मर्मत कुनै पनि स्रोतबाट हुन सकेको छैन । अहिले चरिकोट लामाबगरको सडक नजिकैबाट जोडिएको तथा तामाकोसीमा विभिन्न नयाँ पक्की पुलहरु पनि बनिसकेको हुँदा यो ऐतिहासिक पुल भने महत्त्वहीन भएको छ । तर पनि एउटा इतिहासको साक्षी बनेको यो पुलको मर्मत गरिदिने हो भने यसको ऐतिहासिकता अझै जनताले नियाल्ने अवसरहरु पाइरहने थिए । साथै दिवंगत प्रयागराजको आत्माले पनि सुखानुभूति पाउँथे होला । समाजसेवी प्रयागराजप्रति हार्दिक कृतज्ञतासहित उहाँप्रति श्रद्धाञ्जली दिन चाहन्छु । दिवंगत प्रयागराज सधै अमर रहनुहुनेछ ।
शब्द : सुनील उलक
तस्बिर स्रोत : चिरञ्जीवी मास्के
प्रतिक्रिया