आइतबार, वैशाख ७, २०८२

वेबसाइट बनाउन ध्यान दिनुपर्ने आधारभूत कुरा !

कविराज राई २०७८ भदौ २ गते १२:३६

आज भोलि वेबसाइट बनाउनका लागि भन्दै सयौं विज्ञापन सामाजिक सन्जालमा आइरहेका हुन्छन् । तपाईंको वरपरका व्यवसायहरूले पनि पहिले नै आफ्नो वेबसाइट बनाएका हुन सक्छन् । यस्तो अवस्थामा तपाईंले पनि आफ्नो वेबसाइटको आवश्यक भएको महसुस गर्नुभएको हुनुपर्छ । बजारमा पाइने सबै वेबसाइट निर्माण कम्पनीहरू त्यतिकै अब्बल नहुन पनि सक्छन् । यदि तपाईंलाई राम्रो वेबसाइट कसरी बन्छ भन्ने केही आधारभूत जानकारी मात्रै थाहा भयो भने पनि तपाईंको व्यवसाय वा संस्थाले राम्रो वेबसाइट पाउँछ । यहाँ हामी कस्तो वेबसाइटलाई राम्रो मान्ने अथवा वेबसाइट निर्माण गर्दा बुझ्नुपर्ने कुराहरूबारे छलफल गर्छौं ।

तपाईंसँग एक वेबसाइट हुनु र एक गुणस्तरीय वेबसाइट हुनु दुई फरक कुरा हो । एक गुणस्तरीय वेबसाइटले तपाईंको कर्मचारीले भन्दा बढी कार्य गर्छ । यसले तपाईंको व्यापार वा संस्थालाई चौबीसै घण्टा प्रवर्द्धन गर्छ, ग्राहक खोज्छ, तपाईंसम्म ल्याइपुर्‍याउँछ र बिक्री बढाउँछ । तर वेबसाइट बनाउँदैमा तपाईंलाई यी सबै फाइदा मिल्छ भन्ने पनि छैन । व्यावसायीहरूको इन्टरनेटमा पहुच बढेसँगै वेबसाइटको गुणस्तरमा काम गर्नुपर्ने समय आएको छ । अब बन्ने तपाईंको वेबसाइटमा निम्न कुराहरू खोज्नु होस् :

१ वेबसाइटको उद्देश्य
वेबसाइट फ्लप हुने एउटा कारण अरुको नक्कल गर्न खोज्नु हो । धेरैजसो मानिस अरुको जस्तै वेबसाइट चाहन्छन् तर किन त्यस्तै वेबसाइट चाहियो भनेरचाहिँ कमै प्रश्न गर्छन् । यदि तपाईंसँग कुनै विशेष कारण छैन भने त्यस्तो वेबसाइटले प्रतिफल राम्रो दिँदैन । तपाईंको व्यापारको आफ्नै उद्देश्य छ, हुन्छ । त्यही उद्देश्यलाई पूरा गर्ने गरेर वेबसाइट बनाउनुहोस् । अरुको भएकाले वेबसाइट बनाउनेभन्दा पनि अरुको भन्दा राम्रो कसरी बनाउने भनेर सोच्नु जरुरी छ । यसले तपाईंको वेबसाइट निर्माण प्रक्रियालाई स्पष्ट दिशानिर्देश गर्छ ।

२. वेबसाइटको डोमेन Name
तपाईंको वेबसाइट निर्माण प्रक्रिया डोमेन name बाट सुरु हुन्छ । एक छोटो तर प्रभावी डोमेन छान्नुहोस् जसले तपाईंको व्यापार वा संस्थाको प्रतिनिधित्व गर्दछ । तपाईं GODADDY, NAMECHEAP, र अन्य स्थानीय डोमेन विक्रेताहरुबाट पनि यो सुविधा लिन सक्नुहुन्छ । .com र .net बाहेक अन्य डोमेन extension छन् । जस्तै .health, .trade, .info, .in आदि डोमेन एक्टेन्सन लिन सक्नुहुन्छ । यदि तपाईं Trading व्यापारमा हुनुहुन्छ भने .trade लिन सक्नुहुन्छ । तपाईं स्थानीय डोमेन https://register.com.np/ register.com.np बाट पनि लिन सक्नुहुन्छ । कुनै सरकारी संस्था वा ट्रेडमार्क दर्ता लिएको छ भने यहाँबाट डोमेन लिँदा पैसा पर्दैन ।

३ वेब डिजाइन
वेब डिजाइन तपाईंको वेबसाइट निर्माण प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण भाग हो । HTML र CSS जस्ता कोडिङको कार्य डिजाइनहरूको काम हो । तर कस्तो डिजाइन चाहिन्छ भन्ने कुरामा चाहिँ तपाईं आफैं सजग हुनुपर्छ । लुक एन फिल वेब डिजाइनको महत्त्वपूर्ण पक्ष हो । यसमा तपाईं अलिक डिमान्डिङ हुनपर्छ ।

वेब डिजाइन दुई किसिमका हुन्छन्, कस्टम र टेम्प्लेट । कस्टम डिजाइन ग्राहकको आवश्यक्ताअनुसार बनाइन्छ भने टेम्प्लेट तयारी डिजाइन हो जुन धेरै जनालाई बिक्री गरिन्छ । वेब डिजाइनले तपाईंको वेबसाइटमा आएका भिजिटरहरूलाई आकर्षण गरी धेरै बेरसम्म राख्नुपर्ने दायित्व पाएको हुन्छ । यदि वेबसाइटको थिम, रङ, फन्ट र फन्ट आकार मिलेको छैन भने वेबसाइट असफल हुन्छ । यस्तो वेबसाइटमा कोही पनि बस्न चाहँदैन ।

टेम्प्लेट किन्ने गल्ती पनि नगर्नुहोस् किन भने अन्य सयौं वेबसाइटहरू त्यस्तै बनेको हुन्छ । अलिकति भिन्न हुन खोज्नुहोस् । यसो गर्दा तपाईंको वेबसाइटमा भिजिटरहरु रमाउन सक्छन् । वेब डिजाइन सबैभन्दा सिर्जनशील कार्य हो यसमा विशेष ध्यान, समय र स्रोत लगानी गर्नुहोस् ।

४ वेब कन्टेन्ट
वेब कन्टेन्ट नै वेबसाइटको मुख्य पक्ष हो । वेब कन्टेन्ट के लेख्ने र कसरी लेख्ने भन्ने दुई आधारभूत कुरा हुन् । वेब कन्टेन्ट नेपाली भाषामा पनि लेख्न सकिन्छ तर गुगलजस्ता सर्च इन्जिनमा नेपालीभन्दा पनि अंग्रेजी बढी चलनचल्तीको भाषा भएकाले आवश्कताअनुसार लेख्न सकिन्छ । तपाईं के भन्न चाहानुहुन्छ त्यो अनुसन्धान र ज्ञानमा निर्भर गर्छ । तपाईं कसरी भन्न चाहनुहुन्छ भन्ने कुरा जहिले पनि महत्त्वपूर्ण कुरा हो किन भने तपाईंले वेबसाइटमा लेख्ने शैली तपाईंको गुगल र्‍यांकिङसँग जोडिएको हुन्छ । यो एक प्राविधिक पक्ष पनि हो ।

वेब कन्टेन्ट मूलत: तीन कुराको संयोजन हो । भाषाको दक्षता, मार्केटिङ ज्ञान र गुगलको नियमसम्बन्धी जानकारी भए राम्रो वेब कन्टेन्ट लेख्न सकिन्छ ।

५. SEO
SEO र वेब कन्टेन्ट सँगसँगै आउँछन् । तपाईंको वेबसाइटको अनलाइन उपस्थिति बलियो बनाउन केही की-वर्ड्स्‌को उपयोग गर्न आवश्यक पर्छ । ती की-वर्ड्स्‌ले तपाईंलाई खोज्दा भेटाउन मद्दत गर्छ ।

SEO inbound मार्केटिङका लागि अति आवश्यक अभ्यास हो । यदि वेबसाइटलाई शरीर मान्ने हो भने कन्टेन्ट आत्मा हो र आत्मालाई जीवित राख्ने काम भने SEO को हो । सर्च इन्जिनमा बलियो उपस्थितिबिना तपाईं समान बेच्ने कुरा कल्पना गर्ने सक्नु हुन्न । तपाईंको वेबसाइटलाई खोज्ने मान्छेको जमात एकदम कम हुन्छ । यही branding राम्रो भएको छ भने खोज्लान् पनि तर मानिसहरूले इन्टरनेटमा खोज्ने भनेको सामान वा सर्भिस हो जुन तपाईंको वेबसाइटमा SEO भएको हुनुपर्छ ।

६. गुगल एनालिटिक्स
वेबसाइट बनाउँदा गुगल एनलिटिक्स पनि जोड्नुपर्छ र यो कार्य backend developers को हो । वेबसाइट बनाउँदा यो एपलाई जोड्नु भनेर भन्नुहोस् । यसो गर्नाले पछि वेबसाइटको कार्य मापन गर्न सहज हुन्छ ।

७. सामाजिक सन्जाल
मार्केटिङका लागि सामाजिक सन्जालको महत्त्व झनै बढ्दै गएको छ । अरुभन्दा सामाजिक सन्जालमा सम्भावित ग्राहकहरुलाई खोज्नका लागि सजिलो छ ।

तपाईंको वेबसाइटलाई सामाजिक सन्जालसँग सजिलै जोड्न सकिन्छ । आफ्नो वेबसाइटलाई फेसबुक, युट्‌युब, ट्‌विटर आदि सन्जालमा जोड्न भन्नुहोस् । सामाजिक सन्जाल र वेबसाइट एक-अर्काका सहयोगी हुन् । यस कार्यलाई हामी SOCIAL MEDIA INTEGRATION भन्छौं ।

८. मेसेन्जर च्याट Integration
तपाईं के रुचाउनुहुन्छ : एक इमेल वा मेसेन्जरमार्फत च्याट ? यदि तपाईं आकस्मिक कुरा गर्न रुचाउनुहुन्छ र तपाईंको व्यापार इन्फर्मल प्रकृतिको छ भने, Messenger Chat Integration गर्नुहोस् । यसले तपाईंको ग्राहकहरु कन्भर्ट गर्नका लागि सजिलो बनाउने छ ।
कुनै पनि वेबसाइट विकासकर्ताले वेबसाइट मा यो सुविधा जोड्दछ ।

९. Landing Page
अवतरण पृष्ठ जसलाई हामी प्राविधिक रुपमा Landing Page भन्छौं फेरि वेबसाइट निर्माणको उद्देश्यसँग सम्बन्धित छ । आफ्नो वेबसाइटमा आएका ग्राहकहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा Landing Page सँग सम्बन्धित छ । ग्राहकहरूलाई तुरुन्तै वार्तालाप गर्ने, मूल्य सोध्ने र सेवासम्बन्धी थप जानकारी लिने Buttons दिनुपर्छ ।

१०. उत्तरदायी र अनुकूलता
तपाईंको वेबसाइट एक प्लेटफर्ममा राम्रो देखिन सक्छ तर अर्को प्लेटफर्ममा राम्रो नदेखिन पनि सक्छ । डेस्कटपमा राम्रो देखिएको मोबाइल फोनमा राम्रो नदेखिन पनि सक्छ । वेब साइट बनाउँदा डेस्क्टप र मोबाइल दुवैमा राम्रो देखिने गरी बनाउनुपर्छ । सधैं ध्यान राख्नुहोस् तपाईंका ग्राहकहरु दुवै मोबाइल र डेस्कटप प्रयोगकर्ताहरु हुन् ।

तपाईं आफ्नो सेवा दिने कम्पनीलाई अन्य प्रश्नहरु पनि सोध्न सक्नुहुन्छ जस्तो कि तपाईंको वेबसाइट विभिन्न वेब ब्राउजरहरुमा पूरा तरिकाले कार्यात्मक छ कि छैन ? के यो माइक्रोसफ्ट बिंग, गुगलजस्तै सबै खोज इन्जिन समर्थन गर्छ कि गर्दैन आदि ।

११. SSL प्रमाणपत्र
SSL (सेक्युरिटी सकेट्स लेयर) प्रमाणपत्र डिजिटल प्रमाणपत्र हो जसले वेबसाइटको पहिचान प्रमाणित गर्छ । सरल तरिकाले भन्नु पर्दा यो इन्टरनेट जडानलाई अधिक सुरक्षित राख्न मद्दत गर्ने प्रणाली हो । यसले सम्भावित व्यक्तिगत विवरणसहित दुई प्रणालीहरुबीच हस्तान्तरण गरिएको कुनै पनि जानकारी परिमार्जन गर्नबाट रोक्ने र साइबर ह्याकारबाट संवेदनशील डाटालाई सुरक्षा गर्दछ ।

https:// को साथ वेब ब्राउजरको कुनामा यस्तो चिह्‍न छ भने तपाईंको वेब साइट SSL प्रमणित छ । तपाईंको वेबसाइटलाई प्रमाणित गर्नका लागि तपाईंको वेबसाइट विकासकर्तालाई भने उनीहरुले गरिदिन्छन् ।

१३. वेबसाइटको नियमित मर्मत
वेबसाइटको मर्मत सम्भार गर्न पनि त्यतिकै जरुरी हुन्छ । नियमित रूपमा वेबसाइटमा आइपर्ने समस्याहरुको समाधान गरेर आफ्नो वेबसाइटलाई बढी चुस्त दुरुस्त राख्न सकिन्छ ।

समस्याहरुको नियमित जाँच र समाधान साथै नयाँ संस्करणहरुको अपडेट गर्ने कार्य पनि हो । यसले तपाईंको वेबसाइटलाई स्वस्थ राख्न मद्दत गर्छ, तत्काल आवश्यकताहरुलाई पूरा गर्छ, र एसईओ र गुगल र्‍यांकिङलाई बलियो बनाउँछ ।

तपाईंको वेबसाइटको कार्यक्षमता मात्र यसको नियमित मर्मतमा निर्भर गर्छ । तपाईंले वेबसाइट लिँदा AMC सम्झौता गर्नुपर्छ । यसो गर्नाले तपाईंले वर्षभरि प्राविधिक सहयोग पाउनुहुनेछ ।

यदि तपाईं वेबसाइट पहिलोपटक बनाउनु हुँदै छ भने यीमाथिका बुँदाहरुले केही सहयोग गर्नेछ । वेबसाइटसम्बन्धी वा टेक्नोलोजीसम्बन्धी केही जिज्ञासा भए https://sewatech.com.np/ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

लेखक Sewa Tech नामक IT company सँग आबद्ध छन् ।

कविराज राई

राई Sewa Tech नामक IT company सँग आबद्ध छन् ।

प्रतिक्रिया