बिहीबार, वैशाख ११, २०८२

अपहरणमा परेका दुई युवकको भारतबाट उद्धार

नेपालखोज २०७८ भदौ ६ गते १६:२७

काठमाडौं । अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि सकुशल उद्धार गरी नेपाल ल्याएको हो ।

उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत टोलका २३ वर्षीय गोविन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगर रहेका छन् । दुबै जनालाई आज परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनीहरुलाई भदौ ३ गते राति साढे ९ बजे हेटौडा बसपार्कबाट तीन जना भारतीय नागरिकले अपहरण गरेका थिए । अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा शनिबार राति भारतको बिहार राज्यको मोतिहारीबाट अपहरण मुक्त गराएको हो ।

भारतीय प्रहरीले अपहरणमा संलग्न दुई जनालाई दुई थान हतियारसहित नियन्त्रणमा लिएको जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया